‘एकताबद्ध पार्टी बनाउन पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिऊँ’
७० वर्षे उमेर हद र दुई कार्यकाल पुन ब्युँताउनुपर्ने
काठमाडौं, असोज ३१ गते
एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दुर्ई विकल्प दिएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि लिखित सुझाव र टिप्पणी प्रस्तुत गर्दै सचिव भट्टराईले नेतृत्व हस्तान्तरणका लागि दुई विकल्प दिएका हुन् ।
ओलीले तत्काल वरिष्ठतम नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर एघारौं महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाबाट नयाँ नेतृत्व निर्वाचित गर्ने पहिलो विकल्प भट्टराईले ओलीलाई दिएका छन् ।
दोस्रो, ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने तर अहिल्यै नेतृत्व छाड्ने पूर्वघोषणा गरेर महाधिवेशनबाट नयाँ निर्वाचित गर्ने विकल्प उनले दिएका छन् ।
यी दुईमध्ये एक विकल्प रोज्न उनलाई नै स्वेच्छिक रुपमा दिनुपर्नेसमेत भट्टराईको प्रस्तावमा उल्लेख छ ।
‘अध्यक्षले सहजतापूर्वक नेतृत्व हस्तान्तरणकाको प्रस्ताव अघि सार्नुपर्छ । यसका दुईवटा बाटाहरु छन् । एक, तत्कालै पार्टीका वरिष्ठतम नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने, सो नेतृत्वको वरिपरी पार्टीलाई गोलबन्द र एकताबद्ध गर्ने’ भट्टराईले अगाडि सारेको विकल्पमा भनिएको छ,‘दोस्रो पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने ।
अध्यक्ष कमरेडले महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको पूर्व घोषणा गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने ।’ उनले थप अगाडि भनेका छन्,‘यसमध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मालाई छाडिदिने ।’
उनले पार्टीका कार्यकारी पदहरुमा ७० वर्षे उमेर हद र दुई कार्यकाल पुन ब्युँताउनुपर्ने, त्यसलाई संसदीय फाँटमा पनि लागू गर्नुपर्ने तथा एघारौं महाधिवेशनबाट उच्चस्तरीय कार्यदल पारित गरी पार्टीमा व्यबहार, कार्यशैली र आचरसहितको बहुआयामिक पुनर्गठन अभियान चलाउनुपर्ने पनि उनको प्रस्ताव छ ।
‘एकताबद्ध पार्टी बनाउन पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिऊँ’
उनले पार्टीलाई एकताबद्ध बनाउन पनि पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिन जरुरी रहेको जिकिर पनि गरेका छन् ।
‘संविधान र व्यबस्था मात्रै होइन देश पार्टी र आन्दोलन गम्भीर संकटमा छ । यो बेला पार्टीभित्र असाधरण एकताको जरुरी छ ।
हिजोको अबस्थामा पूर्वराष्ट्रपति एवं हाम्रो पार्टीका पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको सदस्यता जेसुकै कारणले रोकिए पनि यो निर्णय परिवर्तन गरी पार्टीमा उहाँलाई सम्मानजनक हैसियतमा राखेर उहाँको अनुभव र भूमिकामार्फत पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन हामी सबै एकमत हुनुपर्दछ ।’ उनको प्रस्तावमा भनिएको छ ।
सरकारको नेतृत्व लिएकाले जनतासँग माफी मागौं
भट्टराईले जेनजी आन्दोलनको अकल्पनीय क्षतिको जिम्मेवारी लिएर माफी माग्नुपर्ने प्रस्ताव पनि गरेका छन् । ‘अकल्पनीय तोतफोड आगजानी, लुटपाट र ताण्डव इतिहासकै कालो दिन थियो ।
तर यहाँनेर हामीले एउटा तथ्य भूल्नु हुँदैन कि सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको थियो, हाम्रो अध्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो । माथि उल्लेख गरिएको जे भयो, त्यसको रक्षा र सुरक्षाको जिम्मेवारी हाम्रो थियो । के कारण सकेनौं । यसको जिम्मा लिएर हामीले जनतासँग माफी माग्नुपर्छ ।’ उनले भनेका छन् ।
