जर्मनी, असोज ३१ गते
जर्मनीको फ्रान्कफर्टमा अक्टोबर १५ देखि १९ तारिखसम्म आयोजना भएको विश्वप्रसिद्ध पुस्तक मेलामा यसपालि दुई नेपाली स्रष्टाहरु — कवि तथा गीतकार सागर फुयाल र लेखक रमण जैसेरी सहभागी भएका छन्।
साहित्य, कविता र गीतसंगीतमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका सागर फुयालका दुई कृति ‘अञ्जुलीमा थाप्न पाए’ र ‘आफैलाई खोज्न मन छ’ प्रकाशित छन् भने तेस्रो कृति पनि चाँडै बजारमा आउने जानकारी उनले कार्यक्रममा दिएका थिए।
फुयालले हालसम्म आधा दर्जन गीतहरुमा कलम चलाइसकेका छन्। तीमध्ये ‘तिमी हौ सबथोक मेरो’ शीर्षकको गीत विशेष चर्चामा आएको छ, जसमा गायक शिव परियारको स्वर र अभिनेत्री मीरुना मगरको अभिनय रहेको छ। युट्युबमा उक्त गीतले पाँच लाखभन्दा बढी दर्शकको मन जितिसकेको छ।
त्यसैगरी, रमण जैसेरीले आफ्ना कथा सङ्ग्रह ‘कथा हुन् कथा हैनन्’ मा समावेश कथा पढेर सुनाए। उनले जर्मनीमा बस्ने आप्रवासीहरुको जीवन र उनीहरूले भोग्ने यथार्थलाई कथामा कसरी समेटिएको छ भन्नेबारे धारणा राखे। नेपाली भाषा आफूलाई मनका कुरा पोख्न सहज लाग्ने भएकोले अंग्रेजी वा जर्मन भाषाभन्दा नेपाली रोजेको कुरा उनले स्पष्ट पारे।
कार्यक्रम प्रवासी सल्लाहकार परिषद केल्कहाइमकी सदस्य हरप्रित कौरले सञ्चालन गरेकी थिइन् भने फ्रान्कफर्टकी उपसभापति डा. आड्रियाना माक्सिमो दोस सान्तोसको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा लेखकद्वयले आफ्ना रचनाका अंशहरू नेपाली र अंग्रेजी दुवै भाषामा वाचन गरे।
विश्वकै ठूलो पुस्तक मेला मानिने फ्रान्कफर्ट पुस्तक मेलामा हरेक वर्ष दुई लाखभन्दा बढीले सहभागिता जनाउने गर्दछन्। नेपाली लेखकहरूको उपस्थिति भने निकै दुर्लभ रहँदै आएको छ। यसपटकको सहभागिता नेपाली समाज नामक गैर-नाफामूलक संस्थाका अध्यक्ष शिव अधिकारीको समन्वयमा सम्भव भएको हो, जो विगत दुई दशकदेखि नेपाली समुदायको हितमा क्रियाशील छन्।
