काठमाडौं, ३१ असोज
एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले फाँसी दिए पनि स्वीकार्न तयार भएर एमालेमै बसेको बताएका छन् ।
शुक्रवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य महेश बस्नेत र तत्कालीन प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार किरण पौडेलले जेनजीका नाममा अराजकता मच्चाउनेलाई सहयोग पुग्नेगरी गतिविधि गर्नेलाई ब्ल्याक लिष्टेड गर्नुपर्ने, कारवाही गरेर पार्टीबाटै निकाल्नुपर्ने धारणा राखेका थिए । आफैंलाई लक्षित गरेर उनीहरुले त्यस्तो माग राखेपछि भट्टराईले त्यस्तो चुनौति दिदैं जवाफ फर्काएका हुन् ।
‘पार्टीका नेताहरुले पार्टी हितलाई केन्द्रबिन्दूमा राखेर आफ्ना मतहरु राख्दा पनि तपाईंहरु कतिसम्म असहिष्णु हुनुहुन्छ, के यस्तै असहिष्णु राजनीतिले एमाले वलियो हुन्छ ? भट्टराईको चुनौति थियो,‘कसैले निकाल्न खोजे पनि केपी ओलीले फाँसी दिए पनि स्वीकार्य छ, तर एमालेमै बस्ने हो, अन्तिमसम्म एमाले वलिायो बनाउन, देशकै लोकप्रिय पार्टी बनाउनकै लागि एमालेमा बसेको हो ।
कर्णाली, मधेस सबैतिरको चुनौतिपूर्ण जिम्मेवारी पूरा गरेर पार्टीलाई वलियो बनाउन लागेको हुँ, मधेसमा पार्टी एक नम्बर त्यसै बनेन र अहिले पनि तपाईं ( अध्यक्ष ओली) ले जति योगदान गर्नुपर्ने हो, त्यो गरिसक्नुभो, त्यो भन्दा माथि योगदान गर्ने ठाउँ छैन, बिदा हुनुस्, पार्टी हामी सम्हाल्छौं भनेकै हो ।’
