कास्की,कात्तिक ४
पर्यटकीय क्षेत्र लेकसाइडमा पछिल्लो समय केही चहलपहल बढेको छ । विदेशी पर्यटक भित्रिने मुख्य सिजन सुरु हुनै लाग्दा जेनजी आन्दोलन भएको र बाढीपहिरोका कारण दसैंताका पोखरा आउने पाहुना निकै नै कम थिए । पाहुना आउन नपाउँदा पर्यटकीय सिजनको बेलाको पोखरा करिब सुनसान झैं थियो ।
तर, अहिले भने चहलपहल बढ्न थालेको व्यावसायीले बताएका छन् । आन्तरिक पाहुनाको आकार थपिएको छ भने विदेशीको आगमनले पनि बिस्तारै आकार बढाउँदै लगेको व्यावसायीको भनाई छ । व्यावसायीका अनुसार ठूला आकारका होटलले ५० प्रतिशत अकुपेन्सी हाराहारीमा पाहुना पाउन थालिसकेका छन । मध्यम र साना आकारका होटलले पनि पाहुनाको आकार बढाएका छन ।
‘अघिल्लो महिना भने पर्यटन क्षेत्र निकै नै सुस्तायो । झन्डै शुन्यमा अवस्थामा झरेको थियो । दसैंताका त निकै नै कम पाहुना थिए । तर, अहिले भने त्यो आकारले गति लिएको छ,’ लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘आन्तरिक र विदेशी पाहुनाको आगमनमा सुधार भएकै हो । सेप्टेम्बरको सुरुवातमा आन्दोलन हुँदा विदेशी आउन तर्सिए । बाढीपहिरोका कारण दसैंताका आउने आन्तरिक पाहुना प्रभावित भए, तर, अहिले गति लिँदैछ ।’
उनका अनुसार पोखराले अपेक्षा गरेभन्दा राम्रो आकारमा पाहुना पाएपनि पाहुनाको आगमन भने एकैनासको छैन । अघिल्ला सिजनमा यो बेला पाहुनाको आगमन एकैनासको हुने गरेकोमा अहिले कुनैदिन पाहुना आगमनको आकार ह्वात्तै उकालो लाग्ने गरेको छ भने कुनैदिन निकै नै कम संख्यामा पाहुना हुन्छन । ‘कुनैदिनमा ६०–६५ प्रतिशत अकुपेन्सी हुन्छ भने कुनैदिन ४० प्रतिशतमा झर्छ । पाहुना आगमन एकैनासको छैन । हाराहारीमा ५० प्रतिशत अकुपेन्सी चलिरहेको छ,’ उनले भने, ‘जेनजी आन्दोलनका कारण झन्डै शुन्यमा झरेको पाहुना आगमनले छोटो समयमा गति लिएको देखिएको छ । आन्तरिक पाहुना पनि थपिँदा हामीलाई राहत मिलेको छ ।’
‘साताको तीनदिन निकै नै राम्रो आकारमा पाहुना हुन्छन, त्यसपछिका चारदिन एकाएक तल हुन्छ,’ एकनासको आगमन भएको भए व्यवासायीलाई सहज हुन्थ्यो । तरपनि पाहुना नआएको भन्न मिल्दैन,’ उनले भने । उनका अनुसार पछिल्लो समय आन्तरिक पाहुनाका कारण पनि पर्यटन क्षेत्र बढी चलायमान बनेको छ । जेनजी आन्दोलनका कारण विदेशी पाहुनाको आगमनमा असर परेको भएपनि स्वदेशीका आगमनलाई त्यो आन्दोलनको भन्दा पनि बाढीपहिरोको असर बढी परेको थियो ।
‘विदेश बसेकाहरु घर फर्केको र उनीहरु पदयात्रामा जानका लागि आउँदै गर्दा अहिले पाहुना थपिएका छन,’ उनले भने, ‘निजी गाडीमा आन्तरिक पाहुना भित्रिएका छन । पोखरा–मुग्लिन राजमार्गको सहजताले पनि अहिले पाहुना आउन सहज भएको छ । निजी गाडीमा यतिबेला साढे ५ घण्टामै काठमाडौंबाट पोखरा आउन सकिने भएपनि आउजाउ सहज बनेको छ ।’ अहिलेको आगमनमा कुनै बाधा अवरोध नआउने हो भने नोभेम्बरको अकुपेन्सी अनुपात ७० प्रतिशत हाराहारीमा उक्लिने उनको अनुमान छ ।
अर्का होटल व्यावसायी धर्मराज पन्थी पनि विदेशी र आन्तरिक पाहुनाको आगमनले गति लिँदा लेकसाइडको चहलपहल थपिएको बताउँछन । उनका अनुसार मध्यमस्तरका होटलले पनि अहिले ५० प्रतिशत अकुपेन्सी ओगट्नेगरि पाहुना पाएका छन । ‘जेनजी आन्दोलनको प्रभाव हेर्दा यतिछिटै यो अवस्था आउला भनेका थिएनौ । तर, केही विदेशी पनि आएका छन । आन्तरिक पाहुनालाई बाढीपहिरोले रोकेको हो । मौसम सुधार हुनासाथ आन्तरिक पाहुना आउन थालेका हुन,’ उनले भने ।
उनका अनुसार लेकसाइडमा अहिले विभिन्न समूह बनाएर घुमघामका लागि आउने आन्तरिक पाहुना थपिएका छन । बेलुकीपखको चहलपहल पनि बढेको छ । फेवातालमा डुंगा सयरदेखि हिडडुलका पर्यटक पर्याप्त मात्रामा देखिन्छन । ‘बाढीपहिरोको त्रासले दसैंताका सुस्ताएको पर्यटन क्षेत्र अहिले भने केही उकासिँदैछ ।
आन्तरिक पाहुना आएपछि त चहलपहल बढिहाल्छ । अहिले आन्तरिक पाहुनाको आगमनले लेकसाइडलाई केही राहत दिएको छ,’ पन्थीले भने,‘छठसम्मको बिदामा आन्तरिक पाहुनाको आगमन बढ्ने अपेक्षा छ । त्यसो हुँदा व्यवासायमा केही राहत मिल्छ ।’ उनका अनुसार ठूला आकारका होटलले पनि अहिले राम्रै आकारमा पाहुना पाएका छन ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि छोटो समयमा लेकसाइडले पर्यटनमा गति लिएको बताउँछन । उनका अनुसार भारतीय पाहुना भने यो बेला निकै नै कम संख्यामा छन । जेनजी आन्दोलनपछि बढी नै प्रभावित भएको भारतीय पर्यटकको आगमन अझै सहज बनिसकेको छैन । आन्दोलनपछि भारत सरकारले आफ्ना नागरिकलाई नेपाल घुमघाममा आउन सचेत बनाएकोले पनि भारतीय पाहुनाको आगमनले अझै गति लिन नसकेको व्यावसायीको भनाई छ ।
‘भारतीय पाहुना कम भएपनि तेश्रो मुलुकका अरु विदेशी पनि छन । एनआरएनहरु परिवारै सहित घुमघाममा निस्कदा पनि पर्यटनमा पाहुना थपिएका छन,’ पराजुली भन्छन, ‘आन्तरिक पाहुना पनि थपिएका छन । आन्तरिक पाहुना नआएको भए यो बेला गाह्रो हुन्थ्यो । तर, अहिले आन्तरिक पाहुनाको आगमन दसैंपछि बढेको छ । दसैंताका बाढीपहिरोले आन्तरिक पाहुना आउन सकेका थिएनन । तर, अहिले आन्तरिक पनि आउँदा पर्यटन क्षेत्रले गति लिएको छ ।’
पर्यटन व्यावसायीका अनुसार पछिल्लो समय नेपालमा तेश्रो मुलुकका विदेशी पाहुनाको आगमन थपिन थालेको छ । जेनजी आन्दोलनको प्रभावले गर्दा तत्कालिन अवस्थामा पाहुना आउन डराएको भएपनि अहिले भने समूहमा आउन थालेका छन ।
‘यो बेला नेपाल आउनका लागि समूहका पर्यटकले अग्रिम बुकिङ गरेका हुन्छन । अग्रिम बुकिङ गर्ने क्रममा होटल देखि ट्राभल एजेन्सीलाई एडभान्समा पैसा पनि बुझाएका हुन्छन । केही गरि पाहुना आउन नपाउँदा त्यो पैसा फिर्ता पठाउन समस्या हुन्छ ।
आउनै नसक्ने अवस्था भए फरक कुरा हो, नत्र पाहुना आउँछन,’ एकजना व्यावसायीले भने । अहिले समूहमा आएका पाहुना अग्रिम बुकिङ गरेरर पैसा तिरेका पाहुना भएको ती व्यावसायीको भनाई छ । सामान्यतया ठूला आकारका होटलका पाहुनाले त्यसरी अग्रिम पैसा तिरेर पाहुनाको बुकिङ लिने ती व्यावसायीको भनाई छ ।
