काठमाडौं, कात्तिक ४
जेनजी आन्दोलनपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति अशोकराज सिग्देलले भेटघाट गरेका छन् । एमालेका नेताहरुले आगामी प्रधानमन्त्रीका दाउ हेरिरहेको आरोप लगाएका बेला प्रधानसेनापति सिग्देलले पूर्व राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन ।
गत भदौ २४ गतेको विध्वंशकारी आन्दोलनमा आफ्नो भंगालस्थित निवास जलेपछि अहिले बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरमा बस्दै आएकी भण्डारीलाई प्रधानसेनापति सिग्देलले निजी निवासमै पुगेर भेट गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । ‘प्रधानसेनापतिज्यू आउनु भएको थियो’, भण्डारी निकट स्रोतले भन्यो ।
प्रधानसेनापति सिग्देल सोमबार दिउँसो करीब पौने २ बजे उषाकिरणको निवास पुगेर सवा ३ बजे बाहिरिएका थिए । प्रधानसेनापति सिग्देलले देशको समसामयिक सुरक्षा अवस्था र हालको परिस्थितिबारे पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहले सुशीला कार्की प्रधानमन्त्रीमा असफल भए भण्डारीलाई प्रधानमन्त्री बनाउने गरी शक्तिकेन्द्रहरु लागि परेको भन्दै पार्टीभित्र आलोचना गरिरहका छन् । केन्द्रीय कमिटीको बैठक सकिएपछि सदस्यता दिने कि नदिने भन्ने विषयमा छलफल चलिरहेका बेला ओली समूहले यस्तो हल्ला गरेका हुन ।
यो हल्लासँगै प्रधानसेनापति सिग्देलले आफ्नो पूर्व परामाधिपतिसँग भेटघाट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपले हेरिएको छ ।
