सोलुखुम्बु, कार्तिक ४
कवि मुक्तिनाथ कट्टेल स्मृति साहित्य कोष’नेचासल्यानले स्वर्गीय मुक्ति नाथ कट्टेलको स्मृतिमा कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ।
हरेक वर्ष सोलुखुम्बु जिल्लास्तरीय कवितारसाहित्य प्रतियोगिता आयोजना गर्ने गरी सोलुखुम्बु जिल्लाका प्रथम कवि स्व. मुक्तिनाथ कट्टेलको स्मृतिमा उहाँसँग सम्बन्धित परिवारका तर्फबाट स्थापित सो कोषले कार्तिक १० गते कविता प्रतियोगिताको आयोजना गर्न लागेको कोषका सदस्य रोहित प्रसाद बास्तोलाले जानकारी दिए।
नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यतामा चेतना बिस्तार पुस्तकालय नेचासल्यान ४ मा आयोजना हुने प्रतियोगिताका बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरिने बास्तोलाले बताए।
जस अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ४ हजार,द्वीतियलाई २ हजार,तृतीय स्थान प्राप्त गर्ने दुई जनालाई जनही १ हजार र निर्णायकको निर्णय अनुसार बढीमा ४ जनासम्मलाई ५०० प्रदान गरिने छ ।
सोही प्रतियोगितामा नेपाली साहित्यकी स्थापित व्यक्तित्व डा। रेणुका ‘सोलु’लाई नगद ८ हजार ८ सय अठचालीस र सम्मानपत्र सहित ‘मुक्तिनाथ साहित्य सम्मान’ प्रदान गरिने कोषले जनाएको छ ।
साविकको नेचा बेतघारी वडा नं ७ का स्थायी बासिन्दा स्वर्गीय कटेलका नाति अमेरिकामा प्राध्यापनरत डा.थोमस बास्तोलाको अगुवाईमा यसै बर्षमात्र कोष स्थापनाको घोषणा गरिएको थियो ।
सोलुखुम्बु जिल्लाका एक साहित्यिक धरोहरलाई ‘कवि मुक्तिनाथ साहित्य सम्मान’ प्रदान गरी कवि स्वर्गीय मुक्तिनाथ कट्टेललाई सम्झने उद्देश्यले स्थापित कोषले यस बर्ष आयोजना गर्ने साहित्य सम्मान र प्रतियोगिताका लागि सम्बन्धित परिवारका तर्फबाट रोहित बास्तोला र बालकुमार जमरकट्टेलले समन्वय गर्नेछन् ।
