काठमाडौं, कात्तिक ८
ललितपुरको सानेपास्थित सिद्धार्थ होटेलमा नेपाली कांग्रेस संस्थापन पक्षको गोप्य भेला भएको छ । शनिवार कांग्रेस संस्थापनका शीर्ष नेताहरुको गोप्य भेला भएको हो । भेलामा सहभागी भएकाहरुले महाधिवेशनको समय लम्ब्याउने विषयमा छलफल गरेका थिए । छलफलमा जारी केन्द्रीय समिति बैठक र १५ औं महाधिवेशनको कार्यतालिकाबारे गहन विमर्श भएको थियो ।
का.वा सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भएको छलफलमा १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेता (विजय गच्छदार र गोपालमान श्रेष्ठ उपत्यका बाहिर)को उपस्थिति थियो ।
सात भाइका नाममा आन्तरिक गतिविधि गरिरहेका नेताहरु खड्काको नेतृत्वमा बसेको संस्थापन पक्षको छलफलमा सहभागी हुनुले कांग्रेसको वर्तमान आन्तरिक राजनीतिकालागि अर्थपूर्ण छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वान तथा गुरुराज घिमिरे, देवराज चालिसे लगायतको सक्रिय सहभागितामा विशेष महाधिवेशनका नाममा गरिएको हस्ताक्षरले पार्टीभित्र कलह निम्त्याएको बेला संस्थापन पक्ष पनि आन्तरिक रणनीति बुनिरहेको छ । संस्थापन पक्षले महाधिवेशनलाई एक वर्ष पर धकेल्नगरी छलफल अगाडी बढाएको स्रोतको दावी छ ।
जारी केन्द्रीय समिति बैठकबाट आगामी मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने कि वर्तमान कार्यसमितिको म्याद थप्ने भन्ने लफ्फाबाजी छ ।
संस्थापन पक्ष मंसिरभित्र महाधिवेशन सम्भव नहुने निष्कर्षमा छ भने नेता शेखर कोइराला र महामन्त्रीद्वय मंसिरमै महाधिवेशन गर्न सकिने बुझाइ राख्छन् । शनिवारको छलफलमा महामन्त्रीद्वयको भावनालाई पनि सम्बोधन गर्ने गरि केन्द्रीय समितिबाट निर्णय लिने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
