काठमाडौं, कात्तिक १०
नेकपा एमालेले देशैभर डिजिटल जेनेरेसन फोर्स (डिजी फोर्स) तथा टोल सुरक्षा समूह गठन अभियान सुरु गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाका लागि भक्तपुरको गुण्डुबाट सुरु गरिएको अभियानलाई टोल सुरक्षा र जेनजी पुस्ताका मुद्दा संकलनका रुपमा देशैभर बिस्तार थालिएको एमालेले जनाएको छ । एक महिनाकै बीचमा भक्तपुरमा मात्रै एमालेले ३१ ओटा डिजी फोर्स तथा टोल सुरक्षा समूह बनाइएको जनाएको छ ।
अध्यक्ष ओलीको निवास व्यबस्थापनदेखि सुरक्षा व्यबस्था तथा भेटघाटलगायतको नियमित समन्वय गरिरहेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुरक्षा दिने तथा जेनजी पुस्ताको मुद्दा संकलन गर्ने प्रारम्भिक उद्देश्यसहित सुरु भएको अभियान बिस्तारित हुँदै गएको बताए ।
‘पार्टी नेतृत्वको निर्देशनअनुसार देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (डिजी फोर्स) टोल सुरक्षा समूह गठन गर्ने काम अघि बढाइएको छ । तिनले प्रहरीको मनोबल बढाउने र स्थानीय तवरमा भएका अपराध नियन्त्रणका लागि सहयोग गर्ने छ ।’ बस्नेतले भने ।
अहिलेसम्म भक्तपुरको सूर्यबिनायकको नौओटा वडामा १५ ओटा, चागूनारायणमा ८ ओटा, मध्यपुर ठिमीमा ६ ओटा र भक्तपुर नगरपालिकामा २ ओटासहित ३१ ओटा फोर्सहरु गठन भएका छन् । केन्द्रीय कमाण्डलाई अध्यक्षको निवास गुण्डु केन्द्रीत हुनेगरी फोर्सको संयोजक पुष्प श्रेष्ठ र सहसंयोजक अमित पौडेल तोकिएका छन् ।
कमाण्डमा रहने सदस्यहरु भने थप छलफलकै क्रममा रहेको बस्नेतले जानकारी दिए । ओलीको सुरक्षाका लागि २५ जना केन्द्रीय कमाण्डअन्तर्गत र बाँकी २५ जना विभिन्न जनसंगठनकोसहित ५० जनाले नियमित खटिने गरेका छन् । राष्ट्रिय युवासंघबाहेक भुतपूर्व सैनिक प्रहरी संगठन र अनेरास्ववियुबाट स्वयंसेवी भूमिकामा सुरक्षामा खटिएका छन् ।
बस्नेतले २४ भदौमा सरकारी र व्यक्तिगत सम्पत्ति तथा प्रहरी चौकी नष्ट गर्ने र तोडफोड गर्ने व्यक्तिहरूको विषयमा अहिलेसम्म ६ हजार ३ सय ४७ वटा भिडियो क्लिप र व्यक्तिगत विवरण प्राप्त भएको भन्दै डिजी फोर्सको केन्द्रीय कमाण्डमा आउनेगरी थप अन्य विवरण पठाउन आग्रह गरिएको पनि बताए । सरकारले विध्वंसात्मक गतिविधि गर्नेलाई छुट दिने सम्भावना रहेकाले पनि विवरण संकलन गर्न बाध्य भएको उनको भनाई छ ।
