तस्बिर : सामाजिक सञ्जाल
बाजुरा, कात्तिक ११ गते/ बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्या र वडा नं। ५ रुगिनका बाढीपहिरोपीडित परिवार अहिले चिसो मौसमसँगै थप संकटमा परेका छन् । गत साउन २८ गते आएको बाढीले गाउँका करिब ४१ घरपरिवार विस्थापित भएपछि उनीहरू अझै पनि त्रिपालमुनि बसोबास गर्न बाध्य छन् ।
उच्च हिमाली क्षेत्र भएकाले गर्मी महिनामै पनि यहाँ चिसो रहन्छ । अहिले तापक्रम घट्दै जाँदा बालबालिका र बुढापाकाको स्वास्थ्यमा असर पर्न सक्ने डरले स्थानीय चिन्तित छन् । विच्छ्याका सब्बले थापाले भने, “वर्खामा त जसोतसो गुजारा भयो, तर अब हिउँद सुरु हुँदैछ । यो चिसोमा त्रिपालभित्र कसरी बस्ने भन्ने डर छ ।”
स्थानीय सरकार र विभिन्न निकायले अन्नपात, लत्ताकपडा र त्रिपालजस्ता राहत सामग्री भने वितरण गरिसकेका छन् । तर बासको स्थायी व्यवस्था हुन नसक्दा समस्या समाधान हुन सकेको छैन । थापाले थपे, “प्रदेश र संघीय सरकारले घरबासको व्यवस्था गरिदिए यो चिसोमा बाँच्न सजिलो हुने थियो ।”
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार बाढीले विच्छ्यामा आठ घर बगाएको र नौ घर उच्च जोखिममा छन् । वडा नं। ५ कवाडीमा १६ घर पूर्ण रूपमा बगाइसकेका छन् भने ३२ घरमा ठूलो क्षति पुगेको छ ।
“हामीसँग भएको स्रोत र साधनअनुसार तत्कालीन राहत वितरण गर्यौं,” मल्लले भने, “तर सबै गाउँ विस्थापित हुँदा घरबासको व्यवस्थापन हाम्रो क्षमताभन्दा बाहिरको विषय हो । त्यसका लागि प्रदेश र संघीय सरकारसँग सहायताको अपेक्षा गरेका छौं ।”
प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले पनि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमार्फत गृहमन्त्रालयमा थप सहयोगका लागि पत्राचार गरिएको बताए ।
अहिले बाढीपहिरोपीडितहरू चिसो मौसम नजिकिँदै गर्दा नयाँ बासको प्रतीक्षामा छन् । उनीहरूका अनुसार राहतको त्रिपालले त पानी र हावा त रोक्छ, तर हिउँ र चिसोभन्दा बच्ने उपाय अहिले पनि खोजिनसकेको छ ।
