काठमाडौँ, कात्तिक १४ गते
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धक (एमडी) अब खुला प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ। योग्य उम्मेदवार सिफारिस गर्न पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समितिको गठन गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार उक्त समिति गठनको निर्णय गर्नुभएको हो। समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा चयन भएका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखाका प्रमुख सहसचिवले सदस्य–सचिवको भूमिका निर्वाह गर्नेछन्।
समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धा मार्फत योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने व्यवस्था गरिएको छ।
नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमका वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकका रूपमा कार्यभार सम्हाल्नेछन्।
त्यसैगरी, निगमको सञ्चालक समितिको अध्यक्ष पदमा नयाँ व्यवस्था नहुन्जेलसम्म उपाध्यक्ष विक्रम राईले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिनुभयो।
मन्त्रालयका अनुसार खुला प्रतिस्पर्धाको प्रणालीले निगमको व्यवस्थापनमा पारदर्शिता र दक्षता बढाउने अपेक्षा गरिएको छ।
