टीकापुर, कात्तिक १४ गते
कैलालीका दुई वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सीएओ) नहुँदा कामकाज ठप्प भएको छ। पहिलो चौमासिक सकिन लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास योजना, बजेट कार्यान्वयन र प्रशासनिक काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले २०८२ साउन २९ गते नगरपालिका छोडेका थिए। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई भदौ २ गते वर्दघाट नगरपालिकामा सरुवा गरेको थियो। त्यसपछि राजेन्द्रप्रसाद पन्थीलाई भजनीमा सरुवा गरिएको भए पनि उहाँ अहिलेसम्म हाजिर भएका छैनन् ।
पन्थी अनुपस्थित रहेपछि शिक्षा उपसचिव सूर्यबहादुर सिंहलाई भदौ ३१ गतेदेखि असोज मसान्तसम्मका लागि आर्थिक अधिकारसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको थियो। तर, तोकिएको अवधि सकिएपछि सिंह विदामा गएकाले भजनीमा अहिले प्रशासकीय कामकाज पूर्णरूपमा रोकिएको छ।
नगरप्रमुख केवल चौधरीका अनुसार कार्यपालिकाले असोज ३१ गते सातौं तहका अधिकृत हरिलाल जोशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन मन्त्रालयलाई पत्राचार गरेको थियो। “सचिव स्तरीय बैठकले अब स्थानीय तहमा निमित्त नदिने निर्णय गरेको सुनेका छौं,” चौधरीले भन्े , “प्रमुख प्रशासकीय पठाइएन, निमित्त पनि दिइएन भने नगरपालिका कसरी चलाउने भन्ने प्रश्न मन्त्रालयले समाधान गर्नुपर्छ।”
उता टीकापुर नगरपालिकामा पनि यस्तै समस्या छ। प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी असोज ९ गतेपछि कार्यालय फर्किएका छैनन्। उहाँ भदौ ३ गतेदेखि विदामा जानु भएको थियो र असोज २ गते मात्रै कार्यालय फर्किएका थिए।
“प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प छ। चालु वर्षका कुनै पनि योजना अघि बढेका छैनन्,” नगरप्रमुख रामलाल डगौरा थारुले भने, “मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउनुपर्छ।”
टीकापुर नगरपालिकाको भवन र उपकरणहरू २०८२ भदौ २४ गतेको तोडफोड घटनामा करोडौं मूल्य बराबर क्षति भएको थियो। प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने आफू दशैं–तिहारका लागि घरायसी काममा व्यस्त रहेको बताए।
स्थानीयवासीहरूले दुवै नगरपालिकामा प्रशासनिक नेतृत्व अभावले सेवाग्राहीहरू मर्कामा परेको गुनासो गरेका छन्।
