काठमाडौ , कात्तिक १४
मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट एक टोली परिचालन गरिएको छ।
कार्तिक १४ गते बिहान, सशस्त्र प्रहरी बलको उद्दार टोली उक्त क्षेत्रतर्फ प्रस्थान गरेको हो। अलपत्र पर्यटकमा २ जना चिनियाँ नागरिक र १३ जना नेपाली नागरिक रहेका छन्। हिमपातको कारण ती पर्यटकहरु तिलिचो तालको बेश क्याम्पमा अड्किएका थिए।
उद्धारको जानकारी पाउनासाथ, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकल टीम सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो।
उद्धार टोलीलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल यात्रा गर्दै ती पर्यटकसम्म पुग्नुपर्ने भएकोले उद्दार कार्यमा केही समय लाग्ने बताइएको छ। अहिलेको अवस्थामा, अलपत्र परेका पर्यटकहरुको अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यमा कुनै गम्भीर समस्या छैन भन्ने जानकारी प्राप्त भएको छ।
यो उद्दार कार्यमा अत्यधिक समन्वय र ध्यान दिनुका साथै, आवश्यक सबै सुरक्षात्मक उपायहरू अपनाइने सह प्रवक्ता शैलेन्द्र थापाले बताए।
