धनगढी, कात्तिक १४ गते
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य तथा एमाले केन्द्रीय सचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टले पार्टी पद र सदस्यता दुवै परित्याग गरेका छन्। उनले अब स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवामा समर्पित हुने घोषणा गरेका छन्।
भट्टले शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पार्टीभित्र मौलाएको गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवाद जस्ता विकृतिप्रति गम्भीर असन्तोष प्रकट गर्दै अब एमालेमा रहन नसक्ने बताएका छन्।
उनका अनुसार, “इमानदार कार्यकर्ता र नेताको मूल्याङ्कन हुने परम्परा हराउँदै गएको छ। सत्ता र स्वार्थका लागि पार्टीहरू चरम अवसरवादमा डुबेका छन्,” भट्टले लेखेका छन्।
भट्ट २०७५ सालमा एमाले–माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्ष बनेका थिए। पार्टी विभाजनपछि पनि एमालेमै सक्रिय रहँदै उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।
संघर्षपूर्ण राजनीतिक यात्राको स्मरण गर्दै उनले भनेका छन्, “विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रामा कैयौं पटक गिरफ्तारी, यातना र व्यक्तिगत क्षति सहनुपर्यो, तर न्याय र परिवर्तनप्रतिको विश्वास कहिल्यै हराएन।”
अब आफू राजनीतिभन्दा पर रहेर समाज र देशको हितका लागि काम गर्न चाहेको उल्लेख गर्दै उनले थपे, “देश दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको दलदलमा फसेको छ। त्यसैले आत्मालोचना गर्दै नयाँ बाटो रोजेको छु।”
भट्टको यो निर्णयले सुदूरपश्चिममा एमालेभित्रको आन्तरिक असन्तोष पुनः सतहमा आएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
उनको पूर्वमन्त्री दामोदर भण्डारी र उनका सहयोगी आनन्द भट्टसंग लामो समयदेखि विवाद रहदै आएको थियो ।
