काठमाडौं, कात्तिक १४
माधव नेपालले नेतृत्व गरेको दल नेकपा एकीकृत समाजवादी फुट्ने निश्चित भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै घरमा फर्किएर एकतासहित मिलेर अगाडि बढ्न आह्वान गरेका छन्।
अध्यक्ष नेपालसहित बहुमत पक्षले माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम निर्णय गर्न लागिरहेका बेला शुक्रवार साँझ सामजिक संजालमा एमालेमै फर्किएर एकतामा समाहित हुन आह्वान गरेका हुन् ।
एकताको विषयमा निर्णयका लागि अहिले नेकपा एसको बैठक जारी छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषालसहित केन्द्रीय कमिटीमा करिब सय जना भने नेकपा एसलाई नै पुनर्गठन गर्ने पक्षमा छन्।
उनले संजालमार्फत नेकपा एसका नेता–कार्यकर्तालाई आफ्नै रगत र पसिना बगेको घरमा फर्किएर एउटै स्वर र मनमा साझा लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न अपिल गरका छन्।
‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं’ ओलीले आह्वान गर्दै भनेका छन्,‘हामी एउटै परिवार हौं, हाम्रो लक्ष्य स्पष्ट छ–समृद्ध नेपाल, सुखी नेपाली । म सबैमा आह्वान गर्न चाहन्छु–कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा ।’
उनले धेरै ठूलो त्याग, तपश्या र वलिदानबाट आजको एमाले बनेको भन्दै त्यसका लागि नेकपा एसमा रहेका नेता–कार्यकर्ताहरुको पनि उतिक्कै योगदान रहेको सन्देश दिएका छन् ।
‘एमाले केवल एउटा राजनीतिक संगठन होइन, यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो । यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन् ।
कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए’, ओलीले भनेका छन्,‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ।
यस्तो बेला हामी मौन रहन सक्दैनौं ।
राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ । त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु ।’
