काठमाडौं, कात्तिक १४
नेकपा माओवादी केन्द्रसँग एकता गरेर पार्टीलाई मिलाउने नेकपा एसका अध्यक्ष माधव नेपालको विशेष प्रस्तावविरुद्ध सम्मानित नेता झलनाथ खनलाले फरक मत पेश गरेका छन् । पार्टीभित्र फरक मत आउनु स्वभाविक भए पनि अध्यक्ष नेपालको एकतासम्बन्धि विशेष प्रस्ताव सर्बसम्मत पारित भएको उपाध्यक्ष प्रकाश ज्वालाले दावी गरे ।
‘उहाँले अन्तिममा बोल्ने क्रममा मेरो मत दर्ज होस भनेर एउटा अलग्गै राजनीतिक दस्तावेजसहित मत राख्नुभो । कुनै पनि नेताले बैठकमा मत दर्ज गर्ने कुरालाई पार्टीले सम्मान गर्छ ।
व्यक्तिगत रुपमा कसले बाहिर के भन्यो भन्दा पनि बैठकमा के भयो भन्ने कुरा महत्वपूर्ण कुरा हो’ ज्वालाले पार्टी निर्णय सुनाउँदै संचारकर्मीसँग भने,‘९५ प्रतिशतले एकता आवश्यक र अपरिहार्य छ भनेरै बोल्नुभो । एकताको बिरोधमा कसैले बोल्नुभएन । कतिपयले हतार नगरौं, वृहत्त एकतातिर जान अरु पार्टीसँग पनि छलफल गरौं भन्नुभएको हो । बैठकमा फरक मतका रुपमा अरुले राख्नुभएको छैन ।
अध्यक्षको एकतासम्बन्धि प्रस्ताव र राजनीतिक प्रस्ताव सर्बसम्मत पास भएको छ ।’
