काठमाडौं कात्तिक १५ गते
नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले आगामी राष्ट्रिय महाधिवेशनलाई संगठनात्मक लोकतन्त्र सुदृढ पार्ने ऐतिहासिक अवसरका रूपमा प्रयोग गर्न आग्रह गर्दै प्रतिनिधि र नेतृत्व छनोटका दुई वैकल्पिक मोडेल सार्वजनिक गरेका छन्।
भूगोल–आधारित प्रतिनिधित्व मोडेल र प्रत्यक्ष सदस्य सहभागिता गरेर दुई मोडेल ल्याउनु उचित हुने उनको धारणा छ । एमालेको सचिवालय बैठक बसिरहेको बेला नेता रावलको यस्तो धारणा आएको हो ।
भूगोल–आधारित प्रतिनिधित्व मोडेल
सो मोडेल अन्तर्गत देशका सबै ७५३ स्थानीय तहलाई प्रतिनिधि छनोटको आधारभूत एकाइ मान्ने प्रस्ताव रावलको छ ।
प्रत्येक स्थानीय तहबाट कम्तीमा एक प्रतिनिधि चयन गरिने र सदस्यसंख्याको अनुपातमा थप प्रतिनिधि लिन सकिने व्यवस्था रहनेछ उनले भनेका छन्
महिला, युवा, दलित, जनजाति र पिछडिएका वर्गको अनिवार्य समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
रावलका अनुसार त्यसबाट पार्टीमा भौगोलिक सन्तुलन, समान प्रतिनिधित्व र स्थानीय तहमा कार्यकर्ताको मनोबल वृद्धि हुनेछ।
प्रत्यक्ष सदस्य सहभागिता मोडेलमा प्रत्यक्ष निर्वाचित नेतृत्व
सो मोडेलमा पार्टीका सम्पूर्ण सदस्यले प्रत्यक्ष रूपमा नेतृत्व चयनमा सहभागी हुन पाउने नेता रावलको धारणा छ ।
प्रत्येक पालिकामा मतदान केन्द्र राख्ने र सदस्यहरूले डिजिटल वा प्रत्यक्ष मतदानमार्फत मताधिकार प्रयोग गर्ने उनको प्रस्ताव छ । उनले मतदानमा
नागरिकता र सदस्यता प्रमाणीकरण प्रणाली लागू गरेर पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने पनि बताएका छन् ।
रावलका अनुसार यसबाट पार्टीभित्र लोकतान्त्रिक संस्कार, पारदर्शिता र सदस्यको विश्वास अभिवृद्धि हुनेछ।
नेता रावलले दुवै मोडेलको साझा लक्ष्य पार्टीभित्र भौगोलिक सन्तुलन, समावेशी प्रतिनिधित्व, पारदर्शी प्रक्रिया र सदस्य सहभागिता सुनिश्चित गर्दै संगठनात्मक लोकतन्त्रलाई सबल बनाउनु हो पनि भनेका छन् ।
“कुन मोडेल अपनाउने भन्ने निर्णय नीति, प्राविधिक तयारी र आन्तरिक सहमतिमा निर्भर रहनेछ, तर दुवै विकल्पले एमालेलाई अझ जनमुखी र वैचारिक रूपमा सबल बनाउने दिशामा अग्रसर गराउने विश्वास पनि रावलले व्यक्त गरेका छन् ।
