काठमाडौ, कात्तिक १५
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नविकरणमाथिको पर्नुविचार हुने सम्भावना शनिवार (आजै)बाट ‘क्लोज्ड’गरेका छन् । केन्द्रीय कमिटीको निर्णयलाई सचिवालयबाट उल्ट्याउन नसकिने प्रष्ट्याउँदै ओलीले शनिवारको बैठकमा स्पष्ट शब्दमा ‘च्याप्टर क्लोज्ड’ भएको सन्देश दिएका हुन् ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले अहिलेको अबस्थामा पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरणको निर्णयबाट जाने कुराले धेरै सकारात्मक सन्देश जाने भन्दै कुरा उठाएका थिए ।
तर, ओलीले केन्द्रीय कमिटीले बहुमतले नविकरण नगर्ने निर्णय गरिसकेको पूर्वनिर्णयलाई पछिल्लो केन्द्रीय कमिटीले पनि नउल्ट्याएकाले दुवै बैठकको म्याण्डेटविपरित जान नसकिने बताएका थिए ।
‘उहाँसँग मेरो मूर्त रुपमा राम्रोसँग कुरा हुन त पाएको छैन तर केन्द्रीय कमिटीले नै बहुमतले नगरौं भनेपछि सचिवालयले कसरी ती निर्णयहरु खण्डित गर्न सक्छ ?’
रुखो सुनिएका ओलीको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने,‘उहाँले केन्द्रीय कमिटी देखाएर महाधिवेशनमा आफ्नो प्रतिस्पर्धीलाई सदस्यता दिएर स्वागतका साथ ल्याउन नचाहेकै कुरा अब प्रष्ट भइसक्यो ।’
