काठमाडौं, कात्तिक १६
नेकपा (माओवादी केन्द्र) सहित आठ वामपन्थी दलबीच पार्टी एकताको १८ बुँदे सहमति भएको छ। आगामी कात्तिक १९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरिएको छ।
आइतबार पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेको हो।
दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्नका लागि ‘बृहत् कम्युनिष्ट एकता’लाई आजको आवश्यकता भएको निष्कर्ष निकालेका छन्।
सहमति अनुसार, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी जनसमाजवादी पार्टी, नेपाल), नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायतका दलहरूले संयुक्त रूपमा पार्टी एकताको प्रक्रिया अघि बढाउने भएका छन्।
दलहरूले आफ्नो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र कार्यदिशा नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने उल्लेख गरेका छन्।
पार्टीको तात्कालिक कार्यनीतिमा पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन र सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने लक्ष्य राखिएको छ।
आन्दोलनको स्वरूप शान्तिपूर्ण रहने भए पनि परिस्थिति अनुसार सडक, सदन र सरकारजस्ता सबै मोर्चाहरूमा समानान्तर रूपमा संघर्ष सञ्चालन गर्न सकिने सहमति गरिएको छ।
एकता राष्ट्रिय सम्मेलन र संरचना
एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आगामी कात्तिक १९ गते आयोजना गरिनेछ।त्यो सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित हुने र केन्द्रीय समिति गठन हुने उल्लेख गरिएको छ।
६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गरी स्थायी संरचना निर्माण गरिनेछ।
केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समितिको संरचना रहनेछ।साथै, हरेक तहमा संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ।
पार्टीका सबै संगठन र जनसङ्गठनहरूमा सहभागी घटकहरूबाट इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी समायोजन गरिनेछ। सदस्यहरूलाई दुई तहसम्मको समितिमा रहने अनुमति दिइनेछ।
संचालन प्रणाली सामूहिक नेतृत्व र जनवादी केन्द्रियताको सिद्धान्तमा आधारित हुनेछ। वैचारिक वा राजनीतिक मतभेदहरू निरन्तर छलफलमार्फत समाधान गर्दै जाने र अन्ततः एकता महाधिवेशनबाट निष्कर्षमा पु¥याइने सहमति भएको छ।
दलहरूले संयुक्त कार्यदल गठन गरी एकता घोषणा पश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम र अन्य दस्तावेज तयार गर्ने निर्णय पनि गरेका छन्।
एकीकृत पार्टीको नाम र चुनाव चिन्हबारे अन्तिम टुंगो भने घोषणा सम्मेलनमै लगाइने बताइएको छ।
