काठमाडौँ, कात्तिक १७
कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।
भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू थिए । भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू थिए । विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् ।
कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छलफल गरेका थिए । ‘जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने ? कसैले विशेष महाधिवेशन भन्ने, कसैको नियमित महाधिवेशनको मितिमा कुरा नमिल्ने यस्तो सङ्कटबाट पार्टीलाई कसरी निकास दिने भनेर छलफल गरिरहेका हौँ,’ नैनसिंह महरले भने ।
आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिन त्यो भेला आयोजना गरिएको सहभागी केन्द्रीय सदस्यहरुले बताएका छन् ।
