काठमाडौं, कात्तिक १७
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समयमा सामाजिक सञ्जाल र मोबाइलमा अत्यधिक तल्लीन युवालाई गलत तत्वहरूले आन्दोलनको नाममा प्रयोग गरेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले युवामाझ बढ्दो प्रविधि निर्भरता नै राजनीतिक भ्रम र दुरुपयोगको कारण बनेको बताए।
उनका शब्दमा, “आजका युवा मोबाइल बिना दिन बिताउन सक्दैनन्। भात र परिवार छाड्न सक्छन्, तर मोबाइल होइन। यही कमजोर पक्षलाई केही तत्वहरूले आफ्ना स्वार्थका लागि प्रयोग गरे।”
महासचिव पोखरेलका अनुसार, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका विषयहरू स्वभावतः गलत थिएनन्, तर ती मागहरू व्यवस्थित रूपमा सरकारसमक्ष पुर्याइएनन्।
“जेनजीका युवाले बोलेका कुरा गलत होइनन्, तर उनीहरूको मागको कुनै औपचारिक प्रक्रिया भएन। नेतृत्वको थियो भन्ने कुरा नै सरकारलाई थाहा भएन,” उनले भने।
पोखरेलले केही समूहले आन्दोलनको नाममा पूर्ववर्ती सरकारमाथि बेकारको आरोप लगाउँदै गलत धारणाहरू फैलाउने काम गरेको पनि दाबी गरे।
“सरकारले बेवास्ता गर्यो भन्ने धारणा जबरजस्ती बनाइयो,” उनले स्पष्ट पारे, “वास्तवमा केही तत्वहरूले आफ्ना स्वार्थ र एजेन्डा अघि सार्नका लागि घटनालाई बढाइचढाइ गरे भन्ने अहिलेका तथ्यहरूले देखाउँछन्।”
उनका अनुसार, प्रविधिप्रतिको अत्यधिक मोह र मोबाइलको नशा समाजका युवालाई सजिलै प्रभावित पार्ने माध्यम बनेको छ, जसले भविष्यमा अझ गम्भीर सामाजिक चुनौती निम्त्याउन सक्छ।
