काठमाडौं, कात्तिक १७
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै पार्टी छोडेका नेताहरूलाई पुनः एमालेमै फर्किन ढोका खुला रहेको बताएका छन्।
उनले पार्टीमा फर्कन चाहनेहरूलाई कुनै विशेष प्रक्रिया वा अनुमति आवश्यक नपर्ने पनि बताए । महासचिव पोखरेलले भने,
“घरका सन्तानहरू बाहिर गएपछि फर्कन अनुमति लिनुपर्दैन। आउन चाहनुहुन्छ भने आउनुस्, पार्टीले क्षमताका आधारमा जिम्मेवारी दिनेछ।”
तर उनले पार्टीमा फर्कनेहरूले नीति र नेतृत्वका विषयमा विवाद नगर्ने स्पष्ट सर्त भने राखेका छन्।
“एमालेको नीति र नेतृत्वमा सहमति जनाउने जो कोहीका लागि ढोका सधैं खुला छ। तर बहस र विवादको नाउँमा अशान्ति ल्याउने कुरा स्वीकार्य हुँदैन,” उनले जोड दिए।
हालै नेकपा (एकीकृत समाजवादी) फुटेपछि अध्यक्ष केपी शर्मा ओलीले पनि पूर्व सहकर्मीहरूलाई ‘घर फर्कन’ आह्वान गरेका थिए। त्यसै सन्दर्भलाई निरन्तरता दिँदै महासचिव पोखरेलले पनि पार्टी एकता भन्दा पहिले आत्मिक एकताको आवश्यकता रहेको बताए।
