काठमाडौँ, कात्तिक १८
वैदेशिक रोजगार बोर्डले आज आफ्नो १८औं स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। सो अवसरमा प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् बोर्ड अध्यक्षज्यूले शुभकामना मन्तव्य दिँदै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका अधिकार र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिने बताइन्।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव, मन्त्रालयका सचिवहरू, सल्लाहकारहरू, विकास साझेदार, सरोकारवाला संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीहरू सहभागी थिए।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित बनाउने संविधानले दिएको दायित्व राज्यले दृढताका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिन्। उनले भनिन, “विदेश जान बाध्य हुने जनशक्तिलाई सुसूचित, सचेत र दक्ष बनाएर मात्र पठाउनुपर्छ। साथै, विदेशबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ।”
प्रधानमन्त्रीले विगत १८ वर्षमा बोर्डले श्रमिक कल्याणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै कानुनी सहायता, अंगभंग तथा मृत्युमा राहत, शव व्यवस्थापनमा समन्वय, श्रमाधान कल सेन्टर र टेलिमेडिसिन सेवाजस्ता कार्यक्रमहरू श्रमिक हितका दृष्टिले जीवनपरक पहल भएको बताइन्।
उनका अनुसार, हाल बोर्डले सञ्चालन गर्दै आएको नि:शुल्क सीप विकास तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू श्रमिकलाई प्रतिस्पर्धी बनाउन प्रभावकारी बनेका छन्। साथै, कल्याणकारी सेवाहरूलाई पूर्ण अनलाइन प्रणालीमार्फत उपलब्ध गराएर बोर्डले डिजिटल सुशासन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम चालेको उनको भनाइ थियो।
प्रधानमन्त्रीले भनिन्, “अबको चरणमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न, सीपमा आधारित उद्यम र पुनःएकीकरणका कार्यक्रमहरू विस्तार गर्न प्राथमिकता दिनुपर्छ।” उनले विदेश फर्किएका नेपालीहरूको अनुभव र पूँजीलाई उत्पादन, कृषि, पर्यटन र प्रविधि क्षेत्रमा उपयोग गर्न नीतिगत तथा संरचनागत सुधार गर्न निर्देशन दिइन्।
त्यस्तै, उनले वैदेशिक रोजगारीमा हुने ठगी र शोषण नियन्त्रण, आकर्षक रोजगार गन्तव्यको खोजी र वैदेशिक रोजगारलाई क्रमशः निशुल्क र भरपर्दो बनाउने नीति आवश्यक रहेको बताइन्।
कार्यक्रमको अन्त्यमा प्रधानमन्त्रीले देशका लागि पसिना बगाइरहेका श्रमिकहरूप्रति गहिरो सम्मान प्रकट गर्दै भनिन्, “तपाईंहरूको योगदानले नेपालको अर्थतन्त्रलाई सशक्त बनाएको छ र विश्वमा नेपालको प्रतिष्ठा उचो पारेको छ।”
उनले वैदेशिक रोजगार बोर्डको १८औं वार्षिकोत्सवले श्रमिक कल्याण, सुरक्षित आप्रवासन र दिगो रोजगारीका अभियानमा नयाँ उत्साह र प्रेरणा थपोस् भन्ने शुभकामना व्यक्त गरिन्।
