काठमाडौं , कात्तिक १८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले एकीकृत समाजवादीलगायतका साना दलहरूसँग भइरहेको पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक अभियान सुरु गरेका छन्।
मंगलबार पत्रकार सम्मेलनमार्फत शर्माले ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ अभियानको घोषणा गरे।
उनले भने, “हामी राष्ट्रप्रेमी, सुशासन र पारदर्शितामा विश्वास गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका अधिकारप्रति प्रतिबद्ध नागरिकहरूलाई समेट्दै ‘प्रगतिशील अभियान नेपाल’ सञ्चालन गर्दैछौं।”
शर्माले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि र पद्धति कमजोर हुँदै गएको र केही नेतामा शक्ति केन्द्रित भएको आरोप लगाए। उनका अनुसार हालको एकता प्रक्रिया जनताभन्दा केही नेताहरूको व्यक्तिगत स्वार्थमा केन्द्रित भएको छ।
उनले भने, “एकताको नाममा जनता र कार्यकर्तालाई भ्रमित पार्ने, घृणा फैलाउने प्रयास भइरहेको छ। विगतका कमजोरीहरूका लागि माफी माग्दै, अब इमानदारीका साथ नयाँ अभियानमार्फत अघि बढ्ने संकल्प गर्दछौं।”
शर्माले विगतका सबै अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै, दोषी देखिए आफू पनि सजाय भोग्न तयार रहेको घोषणा गरे।
राजनीतिलाई व्यापारको रूपमा हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्वमा अगाडि ल्याउनुपर्नेमा उनले जोड दिए।
