टीकापुर, कात्तिक १७ गते
टीकापुर अस्पतालमा सीटी स्क्यान सेवा शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा मेसिन खरिद गरेर सेवा शुरु गरिएको हो । अस्पताल परिसरमा बनेको सरुवा रोग अस्पतालको भवनबाट सेवा शुरु गरेको छ ।
सेवा शुरु भएको चार दिनमा १३ जनाको स्क्यान गरिएको छ । एक जना रेडियोलोजिष्ट र सहायकको सहयोगमा सेवा शुरु गरिएको हो । तीन करोड ८६ लाखमा मेसिन खरिद गरिएको हो ।
‘थ्री डाइमेन्सनमा हेर्न मिल्ने मेसिन ६४ सलाइसको मेसिन छ,’ टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपरिटण्डेन्ट डाक्टर रेमकुमार राई भन्छन्, ‘भाँचिएको, पेटको समस्या, क्यान्सरको स्क्यान गर्न सकिनेछ ।’
टीकापुरमा सीटीस्क्यान सेवा शुरु भएपछि यसअघि यही सेवा लिन धनगढी र कोहलपुर जानु पर्ने वाध्यता हटने भएको छ ।
‘मेरो दुर्घटना हुँदा कोहलपुर जानु परेको थियो तत्काल एम्बुलेन्स लगायतका खर्च भएको थियो अब त एकदमै सजिलो भयो,’ शुक्रबार आफन्त दुर्घटनामा परेपछि उपचारका लागि अस्पताल आउनु भएका टीकापुर नगरपालिका–२ राजीपुरमा जनक बुढाले भने, ‘बिहान दुर्घटना भयो अहिले सीटी स्क्यान भयो समस्या पत्ता लाग्यो ।’
टीकापुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष झपटबहादुर सोडारीले सेवाहरु थपिदै गएको र प्रदेश सरकारले विशिष्टिकरण गर्न ढिलो भइसकेको बताए । यहाँ मुटुरोग, छालारोग, जलन, युरोलोजी सेवा अभाव छिटो शुरु हुनपर्ने माग स्थानीयको छ ।
