काठमाडौं, कात्तिक १९ गते
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अनुभवी नेताहरूले बनाएका “पार्टीका बिर्ता” अब टुट्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले माओवादी केन्द्रसँग पार्टी एकताको निर्णयप्रति असहमति जनाउँदै यस्तो एकता “स्वार्थपरक र अस्थायी” भएको टिप्पणी गरे।
भुसालका अनुसार, पछिल्लो पुस्ताको ‘जेन–जी आन्दोलन’ ले पुराना नेताहरूलाई बिदा गर्ने सन्देश दिइसकेको छ। “संकटहरू थुपारेर संकटमोचन बन्ने नेताहरूको फर्मुला अब काम लाग्दैन,” उनले भने, “ओरालो लागेकोहरूले एकता गरेर उकालो लागिन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ, तर यसले निकास दिने छैन।”
उनले नेकपा एमाले पनि वाम आन्दोलनको दीगो विकल्प बन्न नसकेको उल्लेख गर्दै, अबको जिम्मेवारी नयाँ सोचका नेताहरूले वहन गर्नुपर्ने बताए। “कम्युनिस्ट आन्दोलनको रूपान्तरणको जिम्मा अब हाम्रो काँधमा आएको छ,” भुसालले भने।
महासचिव भुसालले अध्यक्ष माधवकुमार नेपालप्रति पनि तीव्र असन्तोष व्यक्त गरे। उनका अनुसार, नेपालमाथि अदालतले समेत ‘भ्रष्टाचार नगरेको देखिएन’ भनी टिप्पणी गरिसकेको बेला प्रचण्डसँग एकता गर्न जानु उचित छैन। “विवादित नेतृत्वको पक्षमा बहुमत हुँदा त्यो पार्टीको स्वरूप कस्तो हुन्छ भनेर हामीले सोच्नुपर्छ,” उनले प्रश्न गरे।
भुसालले एमालेसँग बिद्रोह गरेर अलग्गिएको पार्टीले आफ्नो समीक्षा नगरी पुनः माओवादीमा मिसिन खोज्नु गल्ती भएको बताए। “माधवजीले फेरि माओवादीसँग मिल्ने निर्णय गर्नु कमजोरी ढाकछोप गर्ने प्रयास हो,” उनले भने, “यस्तो प्रवृत्तिले न त कम्युनिस्ट पार्टी बनाउन सक्छ, न लोकतान्त्रिक।”
उनका अनुसार, पार्टीमा व्यक्तिवाद हावी भई संस्थागत र नीतिसंगत अभ्यास हराएको छ।
यसैबीच, आज दिउँसो नेकपा ९एस० र माओवादी केन्द्रसहितका दलहरूले एकता घोषणा सभा आयोजना गर्दै छन्। तर भुसालसहितको समूहले उक्त निर्णयको विरोध गर्दै पार्टी पुनर्गठनको पक्ष लिएको छ।
यो समूह न त माओवादीमा मिसिएको छ, न एमालेमा फर्किएको। बरु, वाम शक्तिहरूको नयाँ ध्रुवीकरणका लागि माओवादीका असन्तुष्ट नेता जनार्दन शर्मा र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षसँग सहकार्य गर्दै नयाँ वाम पार्टी गठनको तयारीमा रहेको बुझिएको छ।
