एकता प्रक्रियामाथि भुसालको प्रहार, “तमासाले आन्दोलन झन् समस्याग्रस्त बन्दै”
काठमाडौँ, कात्तिक १९ गते
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले हाल भइरहेको एकता प्रक्रियामाथि तीव्र असन्तुष्टि जनाउँदै त्यसले कम्युनिस्ट आन्दोलनलाई अझ जटिल बनाउने टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले माओवादी केन्द्रसँगको एकता प्रयासलाई “उल्टो बाटो हिँडिएको तमासा” को संज्ञा दिँदै, यसले आन्दोलनलाई सुदृढ बनाउने होइन, उल्टै कमजोर पार्ने दाबी गरे।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भइरहेको एकता प्रयास नेतृत्वको असफलता लुकाउने उपाय मात्रै भएको आरोप लगाउँदै भने,
“ओरालो लागेका नेताहरूको मिलनले कम्युनिस्ट आन्दोलन उकालो चढ्दैन।”
भुसालका अनुसार, गत कार्तिक १५ गते सम्पन्न एकीकृत समाजवादीको आकस्मिक केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै क्रान्तिकारी पुनर्गठनको दिशामा अघि बढ्ने निर्णय गरेको छ।
उनले पार्टीका सबै तहका समिति, जनसंगठन, विभाग र आयोगहरूलाई ‘झूटो एकताको भ्रम’ मा नपरी आफ्नै हैसियतमा धैर्यतापूर्वक रहन आह्वान गरे। साथै, मंसिरको पहिलो हप्तामा आयोजना हुने राष्ट्रिय भेलाका तयारीमा जुट्न निर्देशन दिए।
भुसालले सो भेलाबाट आगामी कार्यभार र योजना तय गरिने जानकारी दिँदै भने,“कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि हामीले सुरु गरेको यो पहलमा देशभित्र र बाहिर रहेका सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्तिहरूको सुझाव र सहयोग अपेक्षा गर्दछौं।”
