काठमाडौं, कात्तिक २१
एमाले अध्यक्ष केपी ओलीले अनुशासन तोडेर आसन्न एघारौं महाधिवेशनलाई नै चुनौति दिनेगरी समानन्तर गतिविधि गरिए कारवाही गरिने चेतावनी दिएका छन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारीको साथ लिएर आफूलाई चुनौति दिन खोजिरहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीहरुतर्फ लक्षित गर्दै ओलीले त्यस्तो चेतावनी दिएका हुन् ।
भण्डारी निकट नेताहरुको पार्टी पुनर्गठनको माग पूरा गर्नकै लागि एक वर्षअगावै महाधिवेशन गर्ने तयारी भइरहँदा पनि अनुशासन तोडेर मिडियामा जथाभावी बोल्ने र समानन्तर गतिविधि चलाउने जस्ता गतिविधि गरिरहेको भन्दै ओलीले आक्रोश पोखे ।
‘पार्टीमा पुनर्गठन चाहियो भनेर एकाथरी साथीहरु धेरै कराएपछि, अनुशासनहीन ढंगले उपद्रो मच्चाएपछि एक वर्षपछिको महाधिवेशनलाई ठीकै छ, पुनर्गठन गरौं न त भनेर एक वर्ष पहिल्यै सारियो । कसले काम गरेको छ, छैन, लडेको छ, छैन कार्यकर्ताले फैसला गर्दैर्छ, तर पनि साँझ जुनकिरी ¥याइँ¥याइँ गरेभन्दा बढि मिडियामा गएर जे पायो त्यही बोलेको छ’ बुद्धिजीवहरुसँगको अन्तरक्रियामा ओलीले भने,‘पार्टीले गरेको संसद पुनस्र्थापनाको पक्षमा उभिएर प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा केपी ओली राजीनामा दे, दे, आज मात्रै भनेको हो र ?’
अहिले भण्डारीका पक्षमा खुलेका नेताहरुलाई पार्टीमा उचित पदमासमेत राखेर ल्याएको सम्झिदैं ओलीले अब पार्टीलाई एकताबद्ध बनाएर लैजान हदैसम्म लचिलो बन्न तयार भए पनि पार्टी नै कमजोर पार्ने काम भएको अबस्थामा भने कारवाहीको डण्डा चलाउनसक्ने चेतावनी पनि दिए ।
‘अध्यक्ष अलि लचिलो हुँदा पो हुन्थ्यो कि भनेर साथीहरुले सुझाव दिनुभो । अलिकति छाति फराकिलो पारे हुन्थ्यो कि, भन्ने एकदम राम्रो सुझाव । मेरो छाती देख्दा यत्रो भए पनि नाप्दा धेरै ठूलो छ । ०७७ सालमा मलाई पाटीबाट निष्काशन गर्ने साथीहरुलाई ल्याएर मैले उपाध्यक्ष राखेर पार्टी अगाडि बढाएँ । तर उनीहरूले कराँते सिक्ने भनेको अन्त होइन, मेरै टाउकोमा हान्नको लागि हो । अभ्यास नै त्यही भयो ।
जसले निकाल्यो, उनीहरूलाई उपाध्यक्ष र सचिव बनाए मैले । नत्र भने कहाँबाट आउँथे’ ओलीले विगत सम्झिदैं चेतावनी दिए,‘मलाई उहिल्यै महासचिव होउ भन्दा माधवजी या अरुलाई बनाउ भनेर लचिलो बनेकोे हुँ । आठौंमा आएर हुँदैन भने तर बाक्सा साटेर हराइयो । म त्यसमा पनि गुनासो गर्दिन । पार्टी छोड्ने, फुटाउने कहिल्यै गरिन । तर जब अनुचित ढंगले कब्जा भयो, त्यसपछि मैले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाएको हो र नेकपा एमाले जस्ताको तस्तै राख्या हो । माधव नेपालले अहिले समाजवादीकि के पार्टीको झोला प्रचण्डकहाँ लगेर बिसाइदिए । एमाले त्यस्तै हुन्थ्यो, उनीहरुले ध्वस्त पार्थे, त्यस्तो हुन नदिएर जोगाएर ल्याएकै हुँ । फेरि पनि एमाले जोगाईन्छ, मैले भनेको छु, बघिनी चुपै लागेर बसेको छ भनेर त्यसको डम्मरुतिर हात लगाउन थाल्यो भने यस्तो दिन्छ नि झप्पु । म पनि चुपै लागेर बसेको हुन्छु, हदैसम्म उदार हुन्छु नरम हुन्छु । पार्टी निर्चोन खोज्यो भने झप्पु । यो त जति नरमभए पनि पार्टी सिध्याउन आँटे झप्पु दिनैपर्ने हुन्छ ।’
