काठमाडौ , कात्तिक ३०
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी संगठन फेरि लयमा फर्किएको बताएका छन्।
जनसंगठन समन्वय संयन्त्रद्वारा काठमाडौंमा आयोजित बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष संरचना, जनसंगठन तथा सम्पर्क समन्वय समितिको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दलहरू अलमल र दिशाहीनतामा फसेका बेला एमाले मात्र जनतासँग प्रत्यक्ष रूपमा जोडिन सफल भएको दाबी गरे।
ज्ञवालीका अनुसार हाल सञ्चालनमा रहेको जनपरिचालन अभियानअन्तर्गत वडा, पालिका र जिल्ला तहमा आयोजित जनप्रदर्शन तथा सभाले पार्टीप्रतिको जनसमर्थन झन् मजबुत हुँदै गएको छ। जनस्तरमा देखिएको उत्साहले पार्टी संगठन थप ऊर्जावान बनेको उनले प्रष्ट पारे।
बैठकमा काठमाडौं इञ्चार्ज आनन्द पोखरेलले मंसिर ५ गते हुने स्वयंसेवकहरूको राष्ट्रिय भेला तथा मंसिर ६ गते काठमाडौंमा आयोजना हुने विशेष प्रदर्शनका तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरे।
