काठमाडौ , कात्तिक ३०
केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा यस सम्बन्धी निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै काफ्लेले आगामी निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत भएको बताए।
उनका अनुसार असोज ९ गते समितिको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा सुरक्षा योजना तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा विस्तृत छलफल गरी एकीकृत सुरक्षा योजना स्वीकृत गरिएको हो।
स्वीकृत योजनामा—सुरक्षा निकायहरूको परिचालन विधि,सुरक्षाका आधारमा जिल्लाको वर्गीकरण,
मतदान केन्द्रमाथि जोखिम मूल्यांकन,
निर्वाचन अवधिका तीन चरण—पूर्व, अवधिभित्र र पछि—का सुरक्षात्मक व्यवस्थाजस्ता विषयलाई समेटिएको छ।
योजनामा राजनीतिक गतिविधि र सीमानाका नजिक देखिन सक्ने अपराधजन्य गतिविधिसहित सबै प्रकारका सुरक्षा चुनौतीका उपाय समावेश भएको काफ्लेले बताए। त्यसैगरी, निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि भएको छ।
बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागी थिए।
