काठमाडौ , कात्तिक ३०
दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको मर्स्याङदी वेसी जलविद्युत् आयोजना (५० मेगावाट) आगामी मंसिर ५ गतेदेखि निर्माण सुरु हुने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै आयोजना सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरेको हो।
स्वदेशी लगानीमा अघि बढ्न लागेको यो आयोजनामा हालसम्म १५० भन्दा बढी शेयरधनीको सहभागिता रहेको छ। आयोजना निर्माणमा अपी पावर कम्पनी लिमिटेडको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी रहनेछ। अपी पावर नेपालमा जलविद्युत् तथा सोलार परियोजनामा सक्रिय संरचना हो, जसले हालसम्म ६ जलविद्युत् र ४ सोलारसहित १० भन्दा बढी आयोजना निर्माण सम्पन्न गरिसकेको छ। समूहका विभिन्न परियोजनाबाट ३०० मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय ग्रिडमा भइसकेको कम्पनीले जनाएको छ।
३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
मर्स्याङदी नदीमा ‘रन अफ द रिभर’ (RoR) प्रविधिमा निर्माण हुने यो आयोजनाको अवधि ३० महिना निर्धारण गरिएको छ। कम्पनीका अनुसार आयोजनामा केवल करिब ७० घनमिटर पानी आवश्यक पर्ने भएकाले वर्षभरि नदीमा बग्ने औसत १५० घनमिटर पानी पर्याप्त हुने र वातावरणीय असर न्यून रहने छ।
यो आयोजना मध्य मर्स्याङदी (७० मेगावाट) जस्तो अर्ध जलाशययुक्त परियोजना होइन। मर्स्याङदी वेसी आयोजनाले नदीको सम्पूर्ण पानी थुन्ने प्रणाली प्रयोग नगर्ने भएकाले वरपरका संरचना, बस्ती तथा धार्मिक–सांस्कृतिक क्षेत्रहरूमाथि कुनै प्रतिकूल असर नपर्ने कम्पनीको दाबी छ।
स्थानीयलाई रोजगारी र प्रत्यक्ष लाभ
आयोजना निर्माणमा स्थानीय स्रोत, साधन र जनशक्तिलाई प्राथमिकता दिइनेछ। प्रभावित क्षेत्रका बासिन्दालाई सीप तथा दक्षताका आधारमा रोजगारी व्यवस्थापन गरिने कम्पनीले जनाएको छ।
परियोजनाबाट प्रभावित बस्ती, मसानघाट, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका क्षेत्रहरूमा शून्य प्रतिकूल असर हुने गरी निर्माण अघि बढाइने उल्लेख छ।
परियोजना प्रभावित स्थानीय तहसँग समन्वयमा खानेपानी, विद्यालय, मठ–मन्दिर, बाटो मर्मत तथा अन्य पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। साथै, प्रभावित स्थानीयलाई शेयर निष्काशन गरी नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत गरिनेछ, जसले उनीहरूलाई प्रत्यक्ष आर्थिक लाभ दिलाउनेछ।
सरकारलाई वार्षिक ३.५ करोड बराबर रोयल्टी
विद्युत उत्पादन सुरु भएपछि आयोजनाबाट सरकारलाई २ प्रतिशत आम्दानी र प्रति मेगावाट एक लाखका दरले वार्षिक झण्डै ३ करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाइनेछ।
यो रकम आयोजना प्रभावित जिल्ला, नगरपालिका तथा वडा तहमा पनि वितरण हुने भएकाले स्थानीय विकास योजनामा प्रत्यक्ष टेवा पुग्नेछ।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा
कम्पनीले परियोजना अघि बढाउन आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिसकेको जनाएको छः
२०७५/०५/१० — नेपाल विद्युत प्राधिकरणसँग PPA (विद्युत खरिद–बिक्री सम्झौता)
२०७४/०६/०१ — वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृत
२०६५/०६/३० — ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट सर्वेक्षण अनुमति
उत्पादन अनुमतिपत्र पनि प्राप्त
यस कम्पनीले कम्पनी ऐन २०६३ अन्तर्गत दर्ता भई निरन्तर ऊर्जा क्षेत्रमा काम गर्दै आएको छ।
सरकारको ऊर्जा लक्ष्यमा योगदान
नेपाल सरकारले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। मर्स्याङदी वेसी जलविद्युत् परियोजनाले यो राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताइएको छ।
दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले निर्माण कार्यमा स्थानीयको सहयोग, सुरक्षा र सहजीकरणका लागि आग्रह गर्दै आयोजना सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
