पहिलो सम्झौताको म्याद गुज्रिएपछि सरकारले बाँकी काम सम्पन्न गर्न ८ महिना अर्थात २०८३ बैशाख २५ गते सम्मका लागि म्याद थपेको छ ।
कास्की, मंसिर १
पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणका लागि दिइएको म्याद गुज्रिएको छ । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ योजना अन्तर्गत सडकसँगै पुल निर्माणका लागि ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल भदौ २६ गते सम्झौता भए पनि पुल निर्माणको आधा काम बाँकी छँदै सम्झौताको म्याद भने गुज्रिएको हो ।
पुरानो पोखरा अर्थात कोर पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा हाल भएको पुलको माथि र तल पट्टी गरेर थप दुई वटा पुल निर्माण गर्ने पहिलो सम्झौताको म्याद गुज्रिएपछि सरकारले बाँकी काम सम्पन्न गर्न ८ महिना अर्थात २०८३ बैशाख २५ गते सम्मका लागि म्याद थपेको छ । गत भदौ २५ गते म्याद सकिएपछि थपिएको सो समयमा पनि पुल निर्माण सम्पन्न हुने सम्भावना भने न्यून देखिएको छ ।
हालसम्म पुल निर्माणको भौतिक प्रगति ५२.३५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत सकिएको छ । तर निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले भने हालसम्म भौतिक प्रगति ६० प्रतिशत माथि भइसकेको दाबी गरेको छ । सेती खोंचमा संरचना निर्माणदेखि सुपर स्ट्रेचर निर्माणसम्मको कामको प्रगति नजोडिएकाले भौतिक प्रगती कम देखिएको कम्पनीको भनाई छ ।
पुल निर्माणमा स्थानियको अवरोध, बिजुलीको पोल नसारिएको तथा खानेपानीको पाईप लाईन पनि नसारिकन म्याद थपिएकाले दोस्रो पटक थपिएको म्याद भित्र काम सक्न मुस्किल हुने निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्ट्रयाक्ट म्यानेजर सुदर्शन देवकोटाले बताए । पुल निर्माणमा बाधा अवरोध छ,उनले भने,‘यो नहटाई थपिएको म्याद भित्र पुल निर्माणको काम सकिन्न ।’
थपिएको अवधीभरमा तल्लो पट्टीको पुल निर्माणको काम सकिए पनि माथिल्लो पट्टीको पुल निर्माणको काम सक्ने सम्भावना नरहेको उनको भनाई छ । पुल निर्माणका लागि आवश्यक सबै सामानहरु ल्याउनका लागि चीनमा एलसी खोलेर सामानहरु अर्डर भएर आउने क्रममा रहेको उनले बताए । आफूहरु निर्माणका लागि तयारी अवस्थामा रहे पनि प्राविधिक समस्याका कारण काममा अवरोध आइरहेको उनको भनाई छ ।
पुलको उत्तरतर्फ पर्ने यी तीन घरहरुलाई २८ लाख, १८ लाख र १४ लाख क्षेतीपूर्ति पाउने निर्णय भइसकेको छ ।
माथिल्लो पट्टीको पुल निर्माण गर्न साईड क्लियर गरिदेउ भनेका छौं,उनले भने,‘तर बिजुलीको पोल पनि सारिएको छैन, खानेपानीको पाईपलाईन जस्ताकोतस्तै छ, अनि आमा समूहको चौतारी पनि छ तर क्षेतीपूर्तिको माग गर्दै अवरोध गरेर हटाउन दिइएको छैन ।’ देवकोटाले माथिल्लो पट्टीको पुलको पूर्वी क्षेत्रमा ३ वटा घरले क्षेतीपूर्तिमा चित्त बुझाएका छैनन् । साथै घर प्रवेशका लागि बाटो माग गरेर निर्माणमा अवरोध गरिरहेको उनले बताए । पुलको उत्तरतर्फ पर्ने यी तीन घरहरुलाई २८ लाख, १८ लाख र १४ लाख क्षेतीपूर्ति पाउने निर्णय भइसकेको छ । तर मुआब्जामा उनीहरुले चित्त बुझाएका छैनन् । त्यतिमात्र होईन, पुल निर्माण गर्दा घरको भित्तासम्मै मापदण्ड लाग्ने भएपछि स्थानियले दुई मिटर नियमित बाटो (रेगुलर एक्सेस) मागेर निर्माणमा अवरोध पु¥याएको उनको भनाई छ ।
अवरोध फुकाउन आयोजनाले वास्ता नगर्दा समस्या नसुल्झिएको देवकोटाको गुनासो छ । के गरेर समाधान गर्ने हो गरिदिए हुन्थ्यो,उनले भने,‘क्षेतीपूर्तिमा पुनरावलोकन गर्ने र रेगुलर एक्सेसका लागि ठाउँ दिने हो भने पनि त्यो गरिदिए हुन्थ्यो, कित हामी सुरक्षा दिन्छौं काम गर भनेर उभिनु प¥यो ।’ तर आयोजनाले समस्याको गाँठो फुकाउन चासो नदिदा कन्ट्रयाक्टर कम्पनीले काम नगरेजस्तो देखिएको उनको गुनासो छ ।
आयोजनाकी ईञ्जिनियर सहनशीला कायस्थले पनि स्थानियको अवरोधका कारण काममा बाधा पुगेको स्वीकारिन् । हामीले समस्याको समाधान खोज्ने प्रयास गरिरहेका छौं,उनले भनिन्,‘एडिबीले समस्या नसुल्झिएसम्म काम अगाडि बढाउँदैन, एउटा मापदण्ड तोकेर क्षेतीपूर्ति तोक्दा स्थानिय मान्दैनन् । त्यसैले काममा अवरोध पुगेको छ ।’ यद्वपि समस्याको समाधानका लागि आयोजनाले पहल गरिरहेको उनको भनाई छ । हामीले हाम्रो तहबाट प्रयास जारी राखेका छौं,उनले थपिन्,‘महानगर, प्रमुख जिल्ला अधिकारीलगायतले पनि आफ्नो ठाउँबाट प्रयास गरिरहनुभएको छ । सायद चाँडै निकास निस्केला ।’
एसियाली विकास बैंकको सहयोगमा १ अर्ब १५ करोडको लागतमा यो पुल बन्नेछ । नेपालकै नमूना पुलका रुपमा रहने यो पुल एक्ष्ट्रा डोज प्रकारको हुनेछ भने पुलको डिप फाउण्डेसन हुनेछ ।
पुल निर्माण भएमा हाल हुँदै आएको ट्राफिक जाम हटाउन कोशेढुंगा सावित हुनेछ । किनकी नेपालका अधिकांश ठाउँबाट पोखरा भित्रिने र बाहिरिने सवारी साधन यहि पुलबाट आवतजावत हुने भएकाले यहाँ अत्यधिक ट्राफिक जाम हुने गरेको छ ।
नजिकै पोखरा रंगशालापनि भएकाले खेल सञ्चालनको बेलामा त झन् ट्राफिक जामले समस्या हुने गरेको छ । पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएमा यी यावत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
