काठमाडौँ, मङ्सिर १
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गराएका छन्। उनले ‘समुन्नत नेपाल पार्टी’ नाममा दल दर्ताका लागि सोमबार स्वयम् उपस्थित भएर निवेदन संशोधन गर्दै पार्टी अध्यक्षका रूपमा आफ्नो नाम राखेका हुन्।
यसअघि आइतबार सोही दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो। सोमबार खनालले आयोगमै उपस्थित भई निवेदन परिमार्जन गर्दै नेतृत्व आफूलाई जिम्मा दिने निर्णय गरे।
नवदर्ता दलले ३५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ। जसमा महासचिवका रूपमा बालकृष्ण पण्डितको नाम प्रस्तावित छ।
पूर्व सुरक्षाअधिकारीहरुको ठूलो समूहले आफू नेतृत्व गरेको दललाई साथ दिने विश्वास व्यक्त गर्दै खनालले ‘समुन्नत नेपाल पार्टी’लाई वैकल्पिक र अनुशासित राजनीतिक शक्ति बनाउन आफू सक्रिय हुने बताए।
निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि दल दर्ताको प्रमाणपत्र दिनेछ।
