काठमाडौं, मंसिर १
नेपाली क्रिकेटरहरुका लागि सोमबार एक ऐतिहासिक दिनको रुपमा रह्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल पहिलो पटक फ्लडलाइटमा शुरु भएपछि यसलाई ऐतिहासिक दिनको रुपमा स्मरण गरियो । फ्लडलाइटमा खेल पनि सम्पन्न भयो । यसका लागि हजारौं दर्शकसाक्षी बने।

दर्शकको खचाखच उपस्थिति रहेको ऐतिहासिक रातमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै अविस्मरणीय जित दर्ता ग¥यो।
घरेलु क्रिकेटमा सायदै देखिएको यस्तो रौनक र उत्साह कीर्तिपुर मैदानमा सोमबार साँझ देखिएको थियो। नेपालमा पहिलो पटक रात्रिकालीन क्रिकेटको प्रत्यक्ष मजा लिने अवसर पाएका दर्शकहरूको बाक्लो उपस्थिति र निरन्तरको हुटिङले खेलाडीहरूमा समेत नयाँ उर्जा थपेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको एनपीएल दोस्रो संस्करणको यो सुरुवातलाई नेपाली क्रिकेटको व्यावसायिक विकासमा एक कोशेढुंगा मानिएको छ।
आयोजकका अनुसार प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेलहरू फ्लडलाइटमा नै खेलाइने तालिका छ।
यो ऐतिहासिक रातलाई काठमाडौं गोर्खाजले आफ्नो प्रदर्शनले थप स्मरणीय बनायो। जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाएर जित हासिल ग¥यो।
काठमाडौंको जितको आधार ओपनर बेन चाल्र्सवर्थले तयार पारेका थिए। उनले मात्र २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको विष्फोटक पारी खेले।

त्यस्तै, अर्का ओपनर आकाश त्रिपाठीले ३९ रनको संयमित पारी खेल्दै जित सुनिश्चित गरे।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको जनकपुरले आसिफ शेखको ५४ रनको अर्धशतकीय पारी र मयन यादवको अविजित ३४ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो।

समग्रमा, एनपीएलको उद्घाटन खेल मैदानको नतिजाले मात्र होइन, नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ डोर्याउने एक सफल र उज्यालो सुरुवातका रूपमा पनि स्मरणीय रहनेछ ।

तस्वीरहरुः एनपील र रासस
