काठमाडौं, मंसिर ४
प्रहरी महानीरिक्षक (आइजिपी)मा दानबहादुर कार्की नियुक्त भएपछि सामाजिक सञ्जालको ‘म्यासन्जेर ग्रुप’मा प्रहरी कर्मचारीलाई प्रतिबन्ध लागेको छ । प्रहरी महानिरीक्षकमा नियुक्त भएको दिन सुरक्षा नाम दिएको विभिन्न सामाजिक सञ्जालको ग्रुपमा जोडिएका प्रहरी कर्मचारीले छोड्न निर्दैशन दिएका थिए । ‘सम्बोधनको पहिलो दिन नै आइजिपीले म्यासेन्जर ग्रुपमा जोडिएकालाई छाड्न निर्दैशन दिनुभएको थियो’, प्रहरी अधिकारीले भने ।
आइजिपी कार्कीले समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउदै गर्दा म्यासेन्जर ग्रुप छाड्न निर्दैशन दिएका थिए । आइजिपी भएको पहिलो दिन प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिएका थिए ।
आइजिपी कार्कीले पत्रकारहरुले बनाएको सामाजिक सञ्जालका म्यासेन्जर ग्रुपहरुमा नजोडिन भनेपछि प्रहरी कर्मचारी भटाभट बाहिरिएका छन् । ह्वाट्सएप, फेसबुक, भाइबर जस्ता ग्रुपमा जोडिनु प्रहरीको मिडिया नीति अनुरुप नभएको बुझाइले प्रतिबन्ध लागेको हो । ‘हामीले त सबै ग्रुपहरु छाडिसक्यौ’, एक प्रहरी अधिकारीले भने ।
धेरै प्रहरी अधिकारीहरु पत्रकारहरुले बनाएको सामाजिक सञ्जालको म्यासेन्जर ग्रुपमा जोडिएका थिए । अहिले सामाजिक सञ्जाल प्रयोगमा पनि प्रहरीभित्र कडाई गरिएको छ । ‘काममा डिस्टर्ब भयो, प्रहरीलाई काम गर्न अप्ठेरो बनाउने अर्नगल प्रचारबाजीमा रमाउने देखियो, त्यसकारण कडाई गरिएको हो’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने । साथै प्रहरी प्रधान कार्यालयको साईबर सेललाई पनि सक्रिय बनाइएको छ ।
