जनकपुरधाम, ५मङ्सिर।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन्।
आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । उनले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको आफूले पाएको बताए।
मन्त्री घिसिङले सरकार सम्पूर्ण शक्ति लगाएर चुनावको तयारीमा लागेकाले चुनाव हुनेमा ढुक्क रहन र यस कार्यमा आवश्यक सहयोग गर्न आग्रहसमेत गरे । उनले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने उल्लेख गर्दै सामान्य विवादले चुनाव हुँदैन कि भनेर नसोच्न सबैलाई अपिल गरे ।
श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि यहाँ पुगेका मन्त्री घिसिङलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागतसहित जानकारी गराएका थिए।
मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जानकी मन्दिर पुगेर पूजाअर्चनासमेत गरे।
