काठमाडौं, ५ मङसिर।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गठन गरेको नेसनल भोलेन्टियर फोर्स कुनै राजनीतिक लक्षित समूहविरुद्ध नभई हिंसा, अराजकता र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण रोक्न बनाइएको बताएका छन्।
शुक्रबार आयोजित घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले राज्य संयन्त्रले मात्र जनताको, उद्योग–व्यवसायको तथा सञ्चारगृहहरूको सुरक्षा पूर्ण रूपमा सुनिश्चित गर्न नसक्ने अवस्थाले स्वयम्सेवी दस्ता आवश्यक भएको बताए। ओलीले भने,“यदि कसैले शान्ति भंग गर्न खोज्छ भने रोक्नुपर्छ। आगजनी, तोडफोडको राक्षसी राज चलाउन खोजियो भने यो फोर्सले रोकिनेछ।”
उनका अनुसार यो केवल सुरक्षामूलक गतिविधिमा सीमित हुने छैन, प्राकृतिक विपत्ति, जनताका समस्या र संकट व्यवस्थापनमा पनि यो फोर्स सक्रिय हुनेछ।ओलीले फोर्सलाई कसैको ‘अहित’का लागि बनाइएको भन्ने टिप्पणी अस्वीकार गर्दै भने,“यो केवल एमालेका लागि होइन। एमालेसँग असहमत राख्नेहरूको समेत सुरक्षाका लागि हो।”
उनले भदौ २३ र २४ मा देखिएको घटना स्मरण गर्दै जेन–जी आन्दोलनको नाममा “नक्कली र विध्वंसकारी तत्त्वहरू” सक्रिय भएको दाबी गरे।
“पानी बाँड्ने भनी खडा भएका स्वयम्सेवीहरू भोलिपल्ट तोडफोड र आगजनीमा उत्रिए। हाम्रो फोर्स यस्ता अराजकतामा कहिल्यै लाग्दैन, उनले भने, ‘ न त कतैबाट ‘पेइड’ भएका छन्।’
ओलीका अनुसार एनभिएफको प्राथमिकता शान्ति, अनुशासन र राजनीतिक स्थिरता कायम गर्नु हो।
प्रधानमन्त्री सुशीला कार्कीले “सरकार असफल भए ठूलो विद्रोह हुने” चेतावनी दिन थालेकोबारे ओलीले कडा आपत्ति जनाए।
“देशमा थप विध्वंस मच्चाउने तपाईंको योजना हो कि सपना? योजना हो भने त्यो पूरा हुन दिइँदैन, उनले भने, ‘ सपना हो भने यस्ता विध्वंसकारी सपना देख्न बन्द गर्नुहोस्।’
