काठमाडौं, ६ मंसिर ।
नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो । तर एमाले भने संसद पुर्नस्थापनाको पक्षमा उभिएको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, प्रतिनिधिसभा निर्वाचनको मितिको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको जानकारी दिएका छन् ।
प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए । साथै कांग्रेसले तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन र निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
कांग्रेसले लहड वा आवेशमा राजनीतिक दल र नेताहरूलाई प्रतिबन्ध लगाउने कार्यले लोकतन्त्रको हिट नगर्ने भन्दै संवाद र वार्ताबाट समस्याको समाधान निकाल्न सबैलाई आग्रह गरेको छ ।
प्रवक्ता महतले महाधिवेशन बारे नेताहरू सहमति नजिक पुगेको र मङ्सिर ११ गते फेरी बैठक बस्न लागेको बैठकले आवश्यक निर्णय लिने बताए ।
