काठमाडौँ, ८ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनको टिकटमा हालका सभापतिको हस्ताक्षर नआउने प्रष्ट पारेका छन्। गार्टी विशेष महाधिवेशनबाट नयाँ सभापति चुनेपछि त्यही नयाँ सभापतिको हस्ताक्षरसहित निर्वाचनमा जाने उनले बताए।
दल दर्ता गर्दा हालै निर्वाचन आयोगमा देउवाको हस्ताक्षर परेको विषय उठेपछि सोमबार थापाले सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका हुन्।
“बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ— के कांग्रेस देउवाज्यूकै हस्ताक्षरमा चुनाव लड्ने हो?”गगन थापाले लेखे, “होइन। किनभने विधानले सबै कुरा स्पष्ट बताइसकेको छ।”
थापाले कांग्रेसको विधानअनुसार तोकिएको समयभित्र विशेष महाधिवेशन हुने र त्यहीबाट नयाँ सभापति चुनिने बताए।
“विशेष महाधिवेशन हुन्छ, नयाँ सभापति निर्वाचित हुन्छन्,’ उनले भने, ‘ त्यसपछि नयाँ सभापतिको हस्ताक्षरमा निर्णय सच्याएर आयोगमा जानेछौं।”
विशेष महाधिवेशन अब अनिवार्य भएको भन्दै उनले कार्यकर्ता र नेताहरूलाई अनावश्यक भ्रममा नपर्न आग्रह गरे।
“यही कारण हामीले निर्वाचनअगाडि नै महाधिवेशन चाहिन्छ भनेका हौं। अब विकल्प शून्य छ, उनले भने, ‘ कुरा स्पष्ट छ, अलमल नपरौ’।
