काठमाडौ, ९ मंसिर।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शहीद तथा आन्दोलनकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जेन–जी आन्दोलनमा घुसपैठ र हिंसाको निन्दा गरेका छन्। उनले भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरे। संविधान र लोकतान्त्रिक प्रक्रियालाई पुनः लिकमा ल्याउनुपर्ने बताउँदै उनले निष्पक्ष, भयरहित चुनाव सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
आसन्न ११औँ महाधिवेशनमा पार्टीलाई लोकतान्त्रिक, पारदर्शी र प्रतिस्पर्धी बनाउनु आवश्यक ठहर गर्दै आफू अध्यक्ष पदका उम्मेदवार बन्ने घोषणा गरे। पार्टीमा नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र, पारदर्शिता, युवा र समावेशी सहभागितालाई उनले प्राथमिकता दिए।
उनले आज व्यक्तव्य जारी गर्दे यस्तो धारणा राखेका हुन्। यस्तो छ उनको व्यक्तव्यको पूर्ण पाठ :
वक्तव्य
म नेपालको लोकतान्त्रिक आन्दोलन,सामाजिक–आर्थिक रुपान्तरण तथा देशभक्तिको गौरवमय आन्दोलनमा सहादतप्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल,जननेता मदन भण्डारी, जननिर्वाचित प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेताहरुप्रति उच्च सम्मान तथाश्रद्धासुमन व्यक्त गर्दछु ।
जेनजी (नव पुस्ता)को आन्दोलनका क्रममा जीवन गुमाएका नवयुवाहरु तथा नेपाल प्रहरीका नौजवानहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । त्यसक्रममा घाइते भएका सबैमाशीघ्र स्वास्थ्य लाभ कामना गर्दछु ।
भ्रष्टाचारको अन्त्य र सुशासनको पवित्र माग सहित भदौ २३ गते नवयुवाहरुको आह्वानमा भएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दछु । तर भदौ २३ गतेकै दिउँसोबाट जेनजीहरुको आन्दोलनमा भएको घुसपैठ तथाभदौ २४ गते भएको विध्वंशको घोर निन्दा गर्दछु । दुवै दिनका घटनाका बारेमा निष्पक्ष र तथ्यपरक छानबीन गरी दोषी उपर कारवाही गर्न माग गर्दछु ।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले हाम्रो सामुन्ने संविधानलाई लिकमा ल्याउनुपर्ने र लोकतान्त्रिकप्रक्रियापुर्नबहालीगर्नुपर्ने अभिभारा आइलागेको छ ।विघटित प्रतिनिधिसभाको मुद्दासम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उचित फैसला हुने अपेक्षा गर्दछु । सँगै, सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावको बातावरण निर्माण गरोस् भन्ने मेरो आग्रह छ ।
देशको यस्तो असाधारण परिस्थितीबीचमा यही २०८२ मंसिर (२७–२९) मा नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन आयोजना हुदैछ । गत २०८२भदौ (२०–२२) मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको राजनीतिक तथा साँगठानिक प्रतिवेदन र विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हामीलाई स्मरण नै छ । तर भदौ २३ पछिको अवस्था र २२ भदौ अघिकोपरिस्थितीमा ठुलो भिन्नता आएको हामीले बुझ्नु पर्दछ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक छ ।
माक्र्सवादीहरु वस्तुवादी हुने गर्दछन् । मनोगत आग्रहले क्षणिक सन्तुष्टी त दिन सक्ला, तर वस्तुगत यर्थाथ बिनाको निष्कर्षले झन् ठूलो संकट तथा अन्योलमा पु¥याउँछ । तसर्थ सबैलाई वस्तुवादी भएर परिस्थितीलाई बुझन र सही निष्कर्षका साथ नेपाली समाजलाई दिशानिर्देश गर्न आग्रह गर्दछु ।
माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गरेको हाम्रो पार्टी नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा विधान महाधिवेशन पश्चात उत्पन्न असाधारण परिस्थितिको बस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न, नयाँ चुनौतीको सामाना गर्न सक्षम हुने गरीपार्टी संगठनको पुर्नगठन गर्न,बलियो राष्ट्रिय शक्ति निर्माणमा सही तरिकाले अगुवाई गर्ने नेतृत्व निर्माण गर्न उच्च विवेक,अटल आत्मविश्वास र क्रान्तिकारीआशावादकासाथ सक्रिय सहभागिताका लागि सिङ्गो पार्टीपंक्तिलाई आह्वान गर्दछु ।
शान्तिपूर्ण र वैधानिकबाटोबाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्दै समानता र सामाजिक न्याय सहितको समाजवादको आधार निर्माण गर्नु जनताको बहुदलीय जनवादको मूख्य कार्यदिशा हो । जननेता कमरेड मदन भण्डारीको अगुवाईमा स्थापित नेपाली विशेषता र मौलिकतामा आधारितजनताको बहुदलीय जनवादको कार्यान्वयनमा हाम्रो पार्टीले विगतमा प्राप्त गरेको अनुभवकोवस्तुनिष्ठ समीक्षा हुन आवश्यक छ । जनताको बहुदलीय जनवादले भने जस्तैगरी कति अघि बढ्न सक्यौ?स्वंयम्समीक्षा गर्न आवश्यक छ ।
म जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरुका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम कमरेडहरुमा अपिल गर्दछु ।यसका लागि महाधिवेशन पश्चात्पार्टी स्कूल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया,छलफल,गोष्ठी आयोजना गर्ने,अन्तर्राष्ट्रिय अनुभवहरुको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरुसँग समेत छलफल र अन्तक्रिया गर्न हामी प्रतिबद्ध छौं ।पार्टी पंक्ति, शुभेच्छुक एवं आमसाधारणहरुबीच विचारको बहस चलाउने, सुझाव संकलन गर्ने र संकलित सुझावको सुनुवाइ गर्ने व्यवस्था मिलाइनेछ ।
राज्य,नेपाली समाजर पार्टीको लोकतान्त्रिकरण जबजको आधारभूत पक्ष हो । २१औं शताब्दीको खुल्ला समाजमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति हामीले अंगिकार गरेका छांै । विश्व कम्युनिष्ट आन्दोलनका अनुभवहरुबाट सिक्दै सक्रियता,पहलकदमी र प्रतिस्पर्धाको माध्यमबाट पार्टीमानेतृत्व विकास गर्ने बाटो हामीले स्वीकार गरेका छांै । पार्टीको सार्वभौमिकता पार्टी सदस्यहरुमा निहीत हुनुपर्दछ । नीति र नेतृत्व छनोटमा पार्टी सदस्यहरुको सक्रिय सहभागितासुनिश्चित गर्नुपर्दछ ।
व्यक्तिको योग्यता अनुसार जिम्मेवारी, जिम्मेवारी अनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार मूल्यांकन गरिने परिपाटी हुनुपर्छ । संसदीय फाँटका उम्मेद्वारको छनोटमा पार्टी सदस्य र आम नागरिकको अभिमतलाई आधार मान्नु पर्दछ ।समानुपातिक उम्मेदवार तथा लाभका अवसरहरुमा श्रमिक वर्गीय पक्षधरता, विषय विज्ञता,पार्टीप्रतिको प्रतिवद्धता, स्वच्छ छवि र आचरणलाई आधार मानेर स्पष्ट र पारदर्शी मापदण्डलाई कार्यान्वयनमा ल्याउनु पर्दछ ।
पार्टीका तहगत अधिवेशन र जनसंगठनका अधिवेशनमा उच्चतम् सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्दछ ।राज्यमा शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनको सिद्धान्त जस्तै पार्टीमा जबजको मान्यता अनुरुप नियन्त्रण र सन्तुलनको सिद्धान्त कार्यान्वयनगरिनुपर्छ । त्यसका लागि विधानमा स्पस्ट व्यवस्था गर्नु पर्दछ । पार्टीकाकेन्द्रीयनिकायहरुअनुशासनआयोग,निर्वाचनआयोगरलेखाआयोगलाईमहाधिवेशनप्रतिजवाफदेहीहुनेगरीस्वयत्तताप्रदानगर्नुपर्दछ।तीनिकायहरुलेगरेकासिफारिसहरुपार्टीकासम्बन्धितनिकायहरुलेअनिवार्य कार्यान्वयनगर्नुपर्दछ।तिनैनिकायहरुको संरचनाप्रादेशिकतहमासमेतप्रदेशअधिवेशनमार्फतनिर्वाचितगर्नुपर्दछ।आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनु पर्दछ । प्रतिस्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतमलोकतान्त्रिक संस्कार विकास गरिनु पर्दछ । कमरेडली भावनाका साथ सहभागिता र सहकार्यको व्यवहार विकास गरिनु पर्दछ । निर्वाचनपछि पनि प्रतिस्पर्धीबीच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्दछ ।
पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागु गरिनु पर्दछ ।‘नीतिमा आबद्धता ः संगठनमा स्वायत्तता’ को नीति अनुरुप जनसंगठनलाई परिचालित गरिनु पर्दछ । जनसंगठनलाई वर्गीय,सामुदायिक तथा पेशागत क्षेत्रको नेतृत्वदायी संगठनको रुपमा स्थापित गर्नु पर्दछ ।स्वच्छ र पारदर्शी प्रतिस्पर्धाबाट नेतृत्व निर्वाचनको प्रक्रिया अबलम्बनगरिनु पर्दछ । पार्टी नेताहरुको स्वार्थ र गुटबन्दीबाट जनसंगठनहरुलाई मुक्त गर्दै सम्बन्धित क्षेत्रमा योग्य पार्टी कार्यकर्ताको निर्माण तथा जनसम्बन्ध विस्तारमा परिचालित गर्नुपर्दछ ।
पार्टीरजनसंगठनकोहरेककमिटीमानवयुवाहरुको प्रतिनिधित्वकोग्यारेन्टीगर्नुपर्छ।महिला,दलित,जनजाति,मधेसी,मुस्लिम,थारु,अल्पसंख्यकतथाअपाङ्गताक्षेत्रकोसम्मानजनकप्रतिनिधित्वकोव्यवस्थागर्न गरी विधानमा आवश्यक संशोधन गर्नुपर्दछ ।
वर्तमान पार्टी अध्यक्ष कमरेड केपीशर्मा ओलीले पार्टीको लोकतान्त्रिकरणका सम्बन्धमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नु भएको,आठौं, नवौं र दशौं राष्ट्रिय महाविधेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनु पर्दछ ।जस अन्तर्गत पार्टीको मूख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्थापित गरिनु पर्दछ ।नेतृत्व विकास र हस्तान्तरणको सहजप्रक्रियालाई कार्यान्वयन गरिनुपर्दछ ।
निर्वाचनमा अन्तरघात गर्ने,पार्टी अनुशासन उलङ्घन गर्ने, राज्यका कानुनबाट दण्डीत हुने प्रकृतिका घटनामा संग्लनहरु माथि कार्वाही गरिनु पर्दछ । निर्णय उपर पुनरावेदन गर्ने व्यवस्था मिलाइनु पर्दछ ।पार्टीको लेखा प्रणालीलाई पारदर्शी बनाइनु पर्दछ । आर्थिक अनुशासनलाई उच्च महत्व दिइनु पर्दछ ।अधिवेशनप्रति जवाफदेही हुने गरी केन्द्र र प्रदेशस्तरमा लेखा आयोग गठन गरिनु पर्दछ । लेखा परिक्षण प्रतिवेदन बार्षिक रुपमा सार्वजनिक गरिनु पर्दछ । सल्लाहकार समितिबाट नियमित रुपमा सुझाव सल्लाह लिने व्यवस्था गरिनु पर्दछ । गैरआवासीय नेपाली तथा प्रवासी नेपाली मञ्चहरुसँग पूँजी,प्रविधि,सीप र ज्ञान हस्तानान्तरण लागि सहकार्य गरिनु पर्दछ । ‘थिङ्क ट्याङ्क’ मार्फत नियमित रुपमा विचार तथा सुझावहरु प्राप्त गर्ने संयन्त्र स्थापना गरिनुपर्दछ । सम्पर्क कमिटी तथा मञ्चहरुलाई पार्टी निर्माण, जिल्लाको पार्टी काम तथा जनसम्बन्ध विस्तारका काममा प्रभावकारी रुपमा परिचालित गरिनु पर्दछ । पार्टी र राज्य सञ्चालन सम्बन्धी नीति निर्माणमा पार्टीका विभागहरुलाई ‘थिङ्क ट्याङ्क’ रुपमा क्रियाशील गरिनु पर्दछ ।
नेता, कार्यकर्ता, सदस्य र नागरिक बीचको सम्बन्धलाई आश र त्रासको छाँयाबाट मुक्त गरी आपसी विश्वास र आत्मिय सम्बन्धमा रुपान्तरण गरिनु पर्दछ । पार्टी कार्यक्रम तथा नेताहरुमा देखिने तडकभडकपूर्ण जीवनशैलीलाई अन्त्य गरी सादा र जनपक्षीय जीवनशैलीमा जोड दिइनु पर्दछ । हरेक तहको पार्टी कमिटीलाई सम्बन्धित तहको पार्टी काम,सामाजिक तथा जनकार्यमा पूर्ण जबाफदेही बनाइनु पर्दछ । सारमा नेकपा (एमाले) लाई आम जनसमुदाय र पाटी सदस्यहरुले गौरवगर्न लायक राजनीतिक संस्थाको रुपमा विकास गरिनु पर्दछ । पार्टी र जनसंगठनका हरेक तहमा नवयुवा, युवा र पाकापुस्ताको सम्मानजनका सहभागिता गराउनु पर्दछ।
चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीकापूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामयराजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुशी र गौरवको बिषय हो । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिदा पार्टीलाईवैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थउहाँलाईपार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।
म स्कुले जीवनदेखि न्याय,समानता र स्वतन्त्रताप्रति समर्पित भएर यहाँसम्म आइपुगेको छु । मधेशको तातो घामदेखि हिमालको चिसो सिरेटोसम्मका भूगोलमापार्टी निर्माणमा क्रियाशील हुँदै मैले मुल्यवान अनुभव र शिक्षा हासिल गरेको छु । सामाजिक रुपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु । संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ । नेपालको लोकतान्त्रिक आन्दोलन र नेकपा (एमाले)को निर्माण मेरा लागि जीवनमा कहिल्यै नभुल्ने पाठशाला र विश्वविद्यालयका रुपमा रहेका छन् । लाखांै जनसमुदाय र हजारांै पार्टी सदस्यहरुको न्यानो माया र स्नेही व्यवहारप्रति म सदैव ऋणी तथा कृतज्ञ छु ।राष्ट्र,जनता र पार्टीलाई सदैव शीरमा राखेको छु । जीवनका उचारचढाबहरुमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन । यो नै मैले आर्जन गरेको नैतिक बल हो । शक्तिमा होइन । विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु ।
पार्टी निर्माण सम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु ।पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।
पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।
यति बेला नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन तयारीका कामहरु सुरु भएका छन् । पार्टी सदस्यहरुको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुदैछ । माथि उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग,स्वस्थ्य, मर्र्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरुलाई हार्दिक आह्वान गर्दछु ।
पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु हामीसवैको साझा दायित्व हो । यो ऐतिहासिक जिम्मेवारीलाई सवैले मनन गरौं ।आन्तरिक लोकतन्त्र समृद्ध भएकोे पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्छ ।
महाधिवेशन समक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्तावेज निकट भविष्यमा सार्वजनिक गर्नेछु । सवैको साथ र सुझावको अपेक्षा गर्दछु ।
धन्यवाद !
मिति ः ९ मंसिर २०८२
ईश्वर पोखरेल
बरिष्ठ उपाध्यक्ष
नेकपा (एमाले)
