काठमाडौ १० मङ्सिर ।
शिक्षामन्त्री महावीर पुनले देशमा स्थायी परिवर्तन ल्याउन युवापुस्तालाई नेतृत्वमा ल्याउनु अत्यावश्यक रहेको बताएका छन्। समाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आन्दोलन र घेराउका माध्यमबाट भन्दा पनि निर्वाचनमार्फत सत्ता–संरचनामा रूपान्तरण सम्भव हुने स्पष्ट पारे।
उनका अनुसार, देशको वर्तमान संरचना तब मात्र बद्लिन्छ जब नयाँ पुस्ताले नेतृत्व सम्हाल्दै राज्यका महत्वपूर्ण भूमिकामा प्रवेश गर्छ। उनले भने, “सिंहदरबार घेरेर मात्र विकास हुँदैन। उज्ज्वल भविष्यको एक मात्र बाटो फागुन २१ को आम निर्वाचनमा युवा पुस्तालाई अघि सार्नु हो।”
पुनले आगामी निर्वाचनलाई पुराना राजनीतिक नेतृत्वलाई बिदा गर्दै नयाँ पुस्तालाई अवसर दिने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे। “यदि यसपटक बुढा–पुराना नेताहरूलाई जिम्मेवारीबाट विश्राम दिई युवापुस्तालाई अगाडि ल्याइयो भने मात्र देश सही दिशामा अघि बढ्छ,” उनले उल्लेख गरे।
