काठमाडौं, १२ मंसिर ।
पूर्व आइजीपी सर्वेन्द्र खनालले यो देश अवश्य उठ्ने छ, र नेपालीहरुको गैरवमय पहिचान बनाउने बताएका छन् । उनले निर्वाचन आयोग पार्टी दर्ता गरेपछि पहिलो पटक सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै नेपालीहरुको गौरवमय पहिचान बन्ने बताएका हुन् ।
यस्तो छ उनको भनाईः
आज मेरो जीवनको सबैभन्दा अर्थपूर्ण र संवेदनशील क्षण आएको छ। नयाँ सोच, नयाँ आशा र नयाँ विश्वासका साथ हामीले समुन्नत नेपाल पार्टीको यात्रा सुरु गरेका छौँ। यो केवल एउटा राजनीतिक दल होइन, यो हाम्रो आफ्नै सपना हो—समुन्नत, स्वाभिमानी र सक्षम नेपालको सपना।
आजको यस ऐतिहासिक यात्रा यति अर्थपूर्ण, सशक्त र सम्भावनायुक्त बन्नुमा धेरै मानिसहरूको योगदान छ।
म मेरो मित्रहरू, शुभेच्छुकहरू, साथ दिएका मार्गनिर्देशकहरू, तथा दिनरात नथाकीकन योगदान पुर्याउने सम्पूर्ण सहयात्रीहरूप्रति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।

विशेष धन्यवाद हाम्रो अभियानमा विश्वास राख्ने जुझारु युवाहरू—विशेषगरी जेन जी पुस्तालाई,
जसले हाम्रा विचारलाई ऊर्जा दिए, हाम्रा लक्ष्यलाई दिशा दिए, र हाम्रा सपनालाई ‘आन्दोलन’ बनाए। म सबैलाई धन्यवाद दिन चाहन्छु, जसले सपना देख्न मात्र होइन, त्यो सपनालाई साकार पार्न विश्वास र प्रेरणा दिए। “नेपालको विकास केवल राजनीतिक नाराबाट सम्भव हुँदैन, त्यो सम्भव हुन्छ विश्वास, श्रम, सीप र संगठित जागरणबाट। आज म याहाहरु सबैलाई हार्दिक अपील गर्न चाहन्छु — देशभित्र होस् वा विदेशमा—आउनुहोस्, विभाजित नभइ एकजुट होऔं, आलोचना होइन, निर्माणको राजनीति गरौँ।

हामी थकित छैनौं, हामी हराएका छैनौ, हामी उठेका छौँ, एक भएर, देश बनाउन भनेर। हामी विश्वस्त छौँ—यदि हामी संगठित भयौ, ईमानदार भयौ र जिम्मेवार भयौ भने
यो देश अवश्य उठ्ने छ, र नेपालीहरुको गैरवमय पहिचान बनाउने छ ।

मातृभूमिको सम्मानले प्रेरित भएर हामी यो मुहिममा लागेका छौँ—समुन्नत नेपाल बनाउने संकल्पका साथ। मेरो सभापति पद केवल ढाँचा मात्र होईन यो यहाहरुको आवाज हो, यहाहरुको आशा , सपना र विश्वासको प्रतिनिधि हो। साँचो परिवर्तन नेतृत्व ले होइन, नेतृत्व गरेका जनताले गर्छन्।
त्यसैले, अब हामी सबै राष्ट्र सेवक, हामी सबै राष्ट्र निर्माणकर्ता, र हामी सबै मिलेर बन्ने छौ – एउटा महान् नेपालका अभियन्ता।
हामीले धेरै समय दोष दिने राजनीति गर्यौँ, अब देश बनाउने राजनीति गरौँ।अब परिवर्तनको कुरा मात्र होइन—परिवर्तनको जिम्मेवारी लिएर काम गरौं। नेपाल केवल सुन्दर देश होइन, सम्बन्ध, सम्भावना र सम्मानको देश पनि हो तयसैले आउनुस्, हातमा हात मिलाऔँ, मनमा विश्वास बोकौं र ऐतिहासिक यात्राको सुरुवात गरौ ताकि भोलिको पुस्तालाई गर्वसाथ भन्न सकियोस्—
“हामीले बालेको थियो समुन्नत नेपालको ज्योति।”
आउनुहोस्, विभाजन होइन, एकताको बाटो समातौँ। परनिर्भरता होइन, आत्मनिर्भरताको दिशा रोजौँ। र आजै प्रतिज्ञा गरौँ—हाम्रो पहिचान —
समुन्नत नेपाली , हाम्रो आवाज — समुन्नत नेपाल।
सर्वेन्द्र खनाल
सभापति
समुन्नत नेपाल पार्टी
