काठमाडौं, १३ मंसिर ।
पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा अडान राख्दै आएका एमालेका केन्द्रीय सदस्यहरु एघारौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिन थालेका छन् ।
पूर्व राष्ट्रपति भण्डारीको पक्षमा उभिएकी स्थायी समिति सदस्य थममाया थापा, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, प्रभा बराल, कृष्ण थापा, मिना गुरुङलगायत झण्डै एक दर्जन केन्द्रीय सदस्य ओलीलाई अध्यक्ष बनाउने पक्षमा उभिएका हुन् । जबकी भण्डारीले भने अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गरेकी छिन् ।
उता, भण्डारीको सदस्यताको पक्षमा उभिएकी अखिलकी पूर्व अध्यक्ष नविना लामा पनि ओली निकट नेताहरुसँग परामर्शमा छिन् । भण्डारीको सदस्यताको पक्षमा उभिएर सकभर नेतृत्वमा पुस्तान्तरण, नभए हस्तान्तरण हुनुपर्ने भन्दै केन्द्रीय कमिटीको पछिल्लो बैठकमा धारणा राखेकी लामाले त्यस्तो माहौल नबनेको अबस्थामा भने समकालीन नेताहरुमा नेतृत्वमा ओलीको विकल्प खोज्नु गलत हुने धारणा राखेकी छिन् ।
सात प्रदेश अध्यक्षमध्ये गण्डकी र लुम्बिनी प्रदेशको अध्यक्ष तटस्थ देखिदैं आएकोमा पछिल्लो पटक वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल मात्र कतै पनि खुलेका छैनन् । बाँकी प्रदेशका सबै अध्यक्ष ओलीतिरै खुलेको स्रोतले जनाएको छ ।
