काठमाडौँ, १७ मङ्सिर।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताएका छन्।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको संवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राखे।
सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उनले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट गरे । उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारका माध्यमबाट निर्वाचनमा जाने गरी राजनीतिक निकास खोज्नुपर्ने पक्षमा एमाले रहेको बताए ।
एमाले वडा र टोलसम्म फैलिएको पार्टी भएकाले निर्वाचनबाट नभाग्ने भन्दै उनले वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
