काठमाडौ, २१ मङ्सिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवकाे आयोजनामा परेकाे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गम्भीर अनियमितता भएको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ।
आयोगले पाँच जना पूर्वमन्त्री, १० जना पूर्वसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च अधिकारीसहित कूल ५५ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ। विमानस्थल निर्माण प्रक्रियामा राज्य कोष दुरुपयोग भएको आरोपसहित आयोगले करिब ८ अर्ब रुपैयाँ बिगो मागदाबी गरेको छ।
मुद्दामा विपक्षी बनाइने पूर्वमन्त्रीहरूमा डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य रहेका छन्। त्यस्तै, क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वनिर्देशक मुरारी भण्डारी पनि प्रतिवादी सूचीमा छन्। दुबैजना यसअघि नलिन्चोक हेलिपोर्ट निर्माणको अनियमितता प्रकरणमा समेत संलग्न रहेको आरोपमा मुछिएका थिए।
विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक तथा सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेना समेत भ्रष्टाचार मुद्दाका प्रतिवादी बनेका छन्।
चीनको ऋण सहयोगमा २०६५ सालदेखि अध्ययन प्रारम्भ भई २०७९ मा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरुदेखि नै विवाद, ढिलाइ र बढ्दो लागतका कारण प्रश्नमाथि परेको थियो।
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको उपसमितिले सो विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विस्तृत छानबिनका लागि अख्तियारलाई निर्देशन दिएको थियो।
