काठमाडौ, २१ मङ्सिर ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाएको छ। उक्त मागसहित सर्वोच्च अदालतमा पुगेकाे जानकारी कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दिएका छन्।
‘हाम्रो पार्टीले संसद पुनर्स्थापनामा पहिल्यैदेखि जोड दिँदै आएको छ। अब न्यायिक निकायले यसको उचित निरूपण गर्नेछ भन्ने विश्वासका साथ सर्वोच्च पुगेका हौँ,’ घिमिरेले कुराकानीमा बताएका छन्। उनका अनुसार केन्द्रीय समिति बैठकले पनि संसद पुनर्स्थापनाको मुद्दा अदालतमा लैजाने निष्कर्ष निकालेको थियो।
रिट दर्ताका लागि केही सांसदहरूको हस्ताक्षर संलग्न रहेको उनले बताए पनि नाम भने सार्वजनिक गरेनन्। कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गर्न पठाएको घिमिरेले जानकारी दिए।
यसअघि नेकपा एमालेले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निवेदन सर्वोच्चमा दर्ता गरिसकेको छ। निर्वाचन प्रक्रियामा जाने निर्णय गरिसकेको कांग्रेसले पुनर्स्थापनाको मुद्दा पनि सँगसँगै अघि बढाउने रणनीतिसहित सर्वोच्च पुगेको बताइएको छ।
