काठमाडौं, २१ मंसिर ।
एमालेको ११ औ महाधिवेशनमा युवा नेता द्वारिकाप्रसाद न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । कैलालीबाट प्रतिनीधि भएर आएका न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘अहिले पार्टीलाई युवाहरुको नेतृत्व आवश्यक छ, पार्टी र मुलुक दुवैमा युवाहरुको नेतृत्वको आवश्यक भएकाले मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ’, न्यौपानेले भने ‘पार्टीलाई युवाहरुको पंक्तिले एकतमबद्ध बनाउछ, पार्टी सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्छ ।’
२०७९को निर्वाचनमा नेकपा एमालेबाट कैलाली–१ को प्रदेशसभा २ का उम्मेदवार भएका न्यौपानेले नमुना टीकापुर बनाउने प्रतिबद्धता गरेका थिए । अहिले उनी पार्टी निर्माणमा युवाहरुको भूमिका रोजगार, अर्थ र उर्जाबाट पेशामा जोडिएर हुन्छ भन्ने आह्वानका साथ अघि बढेका छन् । अनेरास्ववियूको केन्द्रीय तहमा पुगेर जिल्लाको राजनीतिमा होमिएका युवा नेता न्यौपाने आफै पनि उर्जा उद्यमी हुन् । सुदुरपश्चिमको पार्टी पंक्तिमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका न्यौपानले त्यहाँको नेतृत्वको रिक्ततालाई समेत परिपूर्ति गर्नेगरी अघि बढेका छन् ।
केन्द्रीय सदस्यको उम्मेदवार न्यौपानेले अबको पुस्ताले पार्टी हाक्नु पर्ने दायित्व रहेको बताउदै पार्टी र जनतासँगको सम्बन्धले मात्रै मुलुकमा विकास निर्माण हुने तर्क अघि सारेका छन् । ‘अबको नेतृत्व वैचारिक हुनुपर्छ, उद्यमशील हुनुपर्छ साथै रोजगार मुलक क्षेत्रलाई बढी नै प्रोत्साहनदिने पार्टी मात्रै जनतामा टिक्नेछ, नेकपा एमालेलाई हामी जनताको पार्टी बनाउने अभियानमा छौ, युवाहरुको ठूलो पंक्ति अबको महाधिवेशनबाट केन्द्रीय सदस्य भएर आउने प्रकृयामा छ , म त्यसमा सहभागी हुन चाहन्छु’, न्यौपानेले भने ।
यतिबेला मुलकको नजर एमालेतिर भएका कारण पनि एमालेको महाधिवेशन विशेष हुने उनले बताएका छन् । ‘जेनजी आन्दोलनपछि एमालेमाथि प्रहार भैरहेको छ, सिंगो पार्टी पंक्तिमा युवाहरुको भूमिकाको खोजी भैरहेको छ, यस्तो अवस्थामा पार्टीभित्रका प्रतिनीधिहरुले पनि सक्रिय पंक्ति नेतृत्व आओस भन्ने चाहना राखेको छ, म युवा पंक्तिको नेतृत्व गर्दै आएको छु’, उनले भने ।
