काठमाडौं, २१ मंसिर ।
एमालेका नेताहरुलाई साढेसाती लागेको अवस्था छ । भदौ २३को घट्नापछि पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलाई कुनै न कुनै काण्डले छोडेको छैन । आइतबार पनि एमाले नेता एवं सचिव भीम प्रसाद आचार्यलाई ८ अर्बको भ्रष्टचार मुद्धा दायर भयो । नेकपा (एमाले)को ११औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका भीमप्रसाद आचार्यविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार प्रकरणमा मुद्दा दायर भएको छ। पूर्वमा शालीन नेताको रुपमा परिचय कमाएका आचार्य कुशल संगठक पनि हुन । तर उनी मुद्धाको फन्दामा परेपछि राजनीतिबाट टाढा हुने अवस्था आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ५५ जना विरुद्ध मुद्दा दायर गरेको हो। त्यसमा एमाले नेता आचार्य पनि परेका हुन्।
एमालेको महाधिवेशन आउन पाँच दिन बाँकी छ। एमालेको ११औं महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने तयारी छ। ११औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बन्न लागेका उनी त्यसको तयारीका क्रममा महाधिवेशन प्रतिनिधिसँग छलफल पनि गरिरहेका थिए।
तर, महाधिवेशनको पाँच दिनअघि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको वेला भ्रष्टाचार गरेको अभियोग लागेको छ। मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्षका हैसियतले उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
उनी २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। उनी कोशी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन्। उनी २०७८ भदौमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए। उनी विघटित प्रतिनिधि सभाका सांसद पनि हुन्। २०७९ सालको निर्वाचनमा सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
