काठमाडौ, २२ मङ्सिर ।
सशस्त्र प्रहरी बलको नयाँ गण दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही काठमाडौंको प्रमुखको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ध्रुवबहादुर कार्कीलाई दिइएको छ। गृह मन्त्रालयले कार्कीलाई जिम्मेवारी दिएको हो।
सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका एसएसपी कार्कीले अब ८ सय ४८ जनशक्ति रहेको सो गणको कमान्ड गर्नेछन्।
सशस्त्र प्रहरी बल नेपालको हालै स्वीकृत भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ ले पहिला १८ नम्बर गण रहेको सो गणलाई दंगा नियन्त्रण रेजिमेन्ट गणमा स्तरोन्नति गरेको थियो। काठमाडौ उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन यो गणलाई रेजिमेन्ट गणको रूपमा स्तरोन्नति गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको हो।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमान्डमा रहने यो गणमा दुई एसपी, ७ डीएसपी, २० इन्सपेक्टरसहित ८ सय ४८ जनशक्ति रहने व्यवस्था गरिएको छ।
