धनगढी , मंसिर २२
सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमलाई आयोजक पक्षले बेवास्ता गरेको घटना सार्वजनिक भएको छ। प्रदेश सरकारको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका बमलाई आयोजक कैलाली उद्योग वाणिज्य संघले मन्तव्य राख्न दिइएन ।
कार्यक्रममा आयोजक संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले स्वागत मन्तव्य तथा अध्यक्ष पुस्कर ओझाले सभापतिका रूपमा आफ्नो धारणा राखेका थिए। त्यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख अतिथि संघीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्बोधन गरेका थिए।
यद्यपि, प्रदेश सरकारका तर्फबाट उपस्थित राज्यमन्त्री बमलाई बोल्न अवसर नदिएको प्रति धेरैले आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, “यदि बोलाउने योजना थिएन भने राज्यमन्त्रीलाई निम्तो दिनु हुँदैनथ्यो। निम्त्याइसकेपछि प्रदेश सरकारका प्रतिनिधिलाई बोल्न नदिएर अपमानजनक व्यवहार गरिएको छ, जुन उचित र सभ्य होइन।”
स्वयम् राज्यमन्त्री बमले पनि आफू कार्यक्रममै बोल्न लगाउने अपेक्षासहित गएको बताए। तर कार्यक्रमको कार्यतालिका राज्यमन्त्री वमको नाम थिएन त्यसैले राज्यमन्त्री वमले बोल्न मानेनन् । आयोजकले बोलाएर किन आफ्नो नाम समावेश गरिएन भन्नेबारे आफूलाई कुनै जानकारी नभएको राज्यमन्त्री वम बताउँछन्।
आयोजक संघका महासचिव दिनेश लम्सालले भने आफूहरुबाट त्रुटि भएको स्वीकार गरेका छन्। “हामीले मुख्यमन्त्रीलाई मुख्य वक्ताका रूपमा बोलाएका थियौँ तर उहाँ उपस्थित हुन सक्नु भएन। राज्यमन्त्री बम प्रदेश सरकारको प्रतिनिधिका रूपमा आउनुभएको रहेछ तर कार्यक्रम सूचीमा नाम नपरेकाले बोल्न आग्रह गर्दा पनि उहाँ बोल्न मान्नु भएन,” लम्सालले स्पष्ट पारे।
