काठमाडौं, ३ पुस ।
न्यायालयका ढोका गरिब, असहाय र उत्पीडितका लागि बन्द नहुन् भन्ने दृढ विश्वासका साथ वर्षौंदेखि निःशुल्क वकालत गर्दै आएकी अधिवक्ता राधिका खतिवडा अब नेकपा एमालेको केन्द्रीय राजनीतिमा उदाएकी छन् । ‘गरिबकी वकिल’ भनेर चिनिने खतिवडा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा १ हजार ९ सय १५ मतसहित विजयी भएकी छन् । एमालेको आन्तरिक राजनीतिमा उनलाई नयाँ आशा र भरोसाको रूपमा हेरिएको छ ।
अखिल नेपाल महिला संघ हुँदै राजनीतिमा सक्रिय भएकी खतिवडाले एक समय अखिलको उपाध्यक्ष पदको चुनाव हारेपछि राजनीति छोडिनन् । बरु उनले न्यायको मैदान रोजिन् । कानुनी पहुँचबाट टाढा रहेका महिला, पीडित, उत्पीडन भोगेकाहरू र आर्थिक रूपमा कमजोर नागरिकका मुद्दा निःशुल्क लड्दै उनले समाजमा फरक पहिचान बनाइन् । यही निरन्तरता र जनसेवाको अभ्यासले उनलाई ‘गरिबकी वकिल’को नाम दिलायो ।
राजनीतिमा उनको पुनरागमन भने बलियो र अर्थपूर्ण देखिएको छ । सर्लाही जिल्लाका चारै निर्वाचन क्षेत्रमा सहमतिका आधारमा एमालेको महाधिवेशन प्रतिनिधि चयन हुँदा खतिवडा क्षेत्र नम्बर २ बाट महिला क्लस्टरमा सर्वसम्मत प्रतिनिधि बनिन् । यही विश्वासको आधारमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरिन् र प्रतिनिधिहरूको राम्रो समर्थनसहित केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भइन् ।
खतिवडा केपी शर्मा ओली नेतृत्वकै खेमाबाट केन्द्रीय राजनीतिमा अगाडि बढेकी हुन् । एमालेको आगामी नेतृत्व पनि ओलीकै नेतृत्वमा चयन हुने विश्वास व्यक्त गर्दै उनले पार्टीभित्र न्याय, समावेशिता र सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्ने संकल्प व्यक्त गरेकी छन् । उनका अनुसार राजनीति केवल सत्ता होइन, जनताको पीडासँग जोडिने माध्यम हुनुपर्छ ।
सर्लाहीबाटै आदिवासी जनजाति महासंघकी सचिव शान्ति लामा पनि क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । लालबन्दी नगरपालिकाकी पूर्व उपमेयर समेत रहेकी लामा स्थानीय तहदेखि पार्टी संगठनसम्म अनुभवी नेतृका रूपमा चिनिन्छिन् । सर्लाहीमा सहमतिमै प्रतिनिधि चयन हुनु र महिला तथा जनजाति नेतृत्वको उपस्थिति बलियो हुनु एमालेको सांगठनिक सन्तुलनका रूपमा हेरिएको छ ।
न्यायालयमा पीडितको पक्षमा उभिँदै आएकी राधिका खतिवडाको केन्द्रीय राजनीतिमा प्रवेशले एमालेभित्र ‘न्याय, करुणा र प्रतिबद्धता’ बोकेको नयाँ धार प्रवेश गरेको संकेत गर्छ । गरिबका मुद्दा अदालतमा लड्दै आएकी खतिवडाले अब ती आवाजहरू पार्टीको केन्द्रीय टेबलसम्म पु¥याउने अपेक्षा गरिएको छ । एमालेको राजनीतिमा उनी केवल प्रतिनिधि मात्र होइनन्, सम्भावनाको प्रतीक बनेर उभिएकी छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
